काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को मूल्य बढाउने तयारी गरेसँगै उद्योगीले पनि कोइलाबाट विजुली निकालेर उद्योग चलाउने तयारीमा पुगेका छन् ।
विद्युत्को मूल्य सस्तो बनाउन उद्योगले बारम्बार सरकारसँग गरेको आग्रह सुनुवाई नभएपछि आफैले कोइलाबाट विद्युत् निकालेर उद्योग चलाउने पक्षमा पुगेका हुन् ।
प्राधिकरणले अहिले पनि विद्युत्को अतिरिक्त शुल्क प्रस्ताव गरेपछि उद्योगीले कोइलाबाट विद्युत् निकाल्दा कति लागत पर्छ भनेर अध्ययन गरिरहेका छन् । ‘हाम्रो अध्ययन अनुसार कोइलाबाट विद्युत् निकाल्दा प्रतियुनिट ८ रुपैयाँ पर्ने देखिएको छ,’ सौरभ समूहका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले भने, ‘यदि ९ रुपैयाँमै एक युनिट विद्युत् निस्कियो भने पनि हाम्रा लागि प्राधिकरणको विद्युत् किन्नुभन्दा आधा सस्तो पर्छ ।’
कमसल (थर्डक्लास) कोइला ल्याएर विद्युत् उत्पादन गर्न सकिन्छ । विद्युत् उत्पादनका लागि एक नम्बर कोइला पनि नचाहिने न्यौपानेले बताए । सधैभरी सरकारसँग झगडा गरेर बस्ने होइन्, बरु आफै कोइलाबाट विद्युत् उत्पादन गरेर उद्योग चलाउने तयारीमा आफू लागेको उनले बताए ।
‘अहिले पनि कोइलाबाटै विद्युत् निकालेर सर्वोत्तम सिमेन्ट चलाइरहेको छु,’ उनले भने, ‘सर्वोत्तम स्टिल उद्योग लगाउँदै छु, कोइलाबाट विद्युत् निकालेर चलाउँछु ।’
उनका अनुसार प्राधिकरणसँग ३२ मेगावाटको माग गरेको थिए । दिँदा पनि दिएन । अहिले फेरी मूल्य बढाउने कुरा गरिरहेको छ । अब आफै कोइलाको प्लान्ट लगाउँछु र विद्युत् निकालेर सो उद्योग चलाउँछु ।
‘सरकारले विद्युत्को मूल्य पक्कै घटाउँदैन । नघटाउने वित्तिकै ८/९ रुपैयाँमै कोइलाबाट विद्युत् उत्पादन हुन्छ भने प्राधिकरणसँग किन महँगोमा विजुली किन्ने’ ? उनले भने ।
प्राधिकरणले नर्मल लाइनकै मूल्य घटाउनुपर्ने अवस्था छ । तर, प्राधिकरणले डेडिकेटेडको नाममा अझै पनि १६÷१७ रुपैयाँ लिन खोजेको छ । संसारमै नभएको मूल्य प्राधिकरणले तोकेको न्यौपानेले बताए ।
प्राधिकरणले दिने विद्युत् भन्दा कोइलाबाट निकालेको विजुली कयौं गुणा गुणस्तरीय हुने उनको भनाइ छ । अहिले पनि प्राधिकरणले दिएको विद्युत् बेला बेलामा झ्याप्प झ्याप्प जाने गर्छ । तर, कोइलाबाट निकालिएको विद्युत्को गुणस्तरमा कुनै कमी नआउने न्यौपानेले जानकारी दिए ।
याे पनि पढ्नुस्, ः देशबाट लोडसेडिङ हटिसक्यो, प्राधिकरणको दिमागबाट हटेन ‘त्यो बेलाका प्रावधान अहिले किन राख्ने ?’
‘घुस’ खान पाइने भएपछि डेडिकेटेड र ट्रंकको अतिरिक्त शुल्क राखियो