काठमाडौं । आर्थिक चलखेल र घुस खान पाइने भएपछि नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमा अतिरिक्त शुल्क राखेको उद्योगीले आरोप लगाएका छन् । प्राधिकरणद्वारा प्रस्तावित नयाँ विद्युत् महशुलमा यस्तो व्यवस्था राख्नुले थप आर्थिक चलखेललाई प्रोत्साहन गरेको उद्योगीको आरोप छ ।
पछि विजुली दिने बेलामा कर्मचारीलाई घुस खुवाउनेले नर्मल फिडरबाट सामान्य दरमा लाइन पाउने र घुस नदिने उद्योगीलाई डेडिकेटेड वा ट्रंक लाइन अन्तर्गत राखेर अतिरिक्त शुल्क लिनका लागि यस्तो प्रावधान उद्योगीले आरोप लगाएका हुन् ।
याे पनि पढ्नुस्, ः देशबाट लोडसेडिङ हटिसक्यो, प्राधिकरणको दिमागबाट हटेन ‘त्यो बेलाका प्रावधान अहिले किन राख्ने ?’
देशमा लोडसेडिङ अन्त्य भइसकेका बेलामा पनि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन राखेर अतिरिक्त शुल्क लिन खोज्नुले भोलिका दिनका आर्थिक चलखेलो ठूलो सम्भावना हुने सौरभ समूहका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले बताए ।
‘अहिले दोहोरो शुल्कको आवश्यकता छैन्, तर प्राधिकरणले दोहोरो शुल्क राखेर नयाँ महशुल दर प्रस्ताव गरेको छ । त्यसको एउटा मात्रै उद्देश्य भनेको भोलिका दिनमा आर्थिक चलखेल गर्ने ठाउँ राखिएको हो,’ उनले भने, ‘यसलाई विद्युत् नियमन आयोगले खारेज गर्नपर्छ । यदि खारेज गरिएन भने घुस बुझाउनेलाई नर्मल लाइनबाट विजुली दिने र घुस नबुझाउनेलाई डेडिकेटेड र ट्रंक लाइन अन्तर्गत राखेर चर्को शुल्क लिने काम हुन्छ ।’
जसरी दिए पनि लाइन एउटै हो । नामाकारण फरक पार्ने वित्तिकै उद्योगीलाई मर्का पर्ने उद्योगी राजेश अग्रवाल बताउँछन् । समय छँदै आयोग यस विषयमा गम्भीर बनेन भने भोलि ठूलो आर्थिक चलखेल हुने र उद्योगीसँग बार्गेनिङ गर्ने ठाउँ रहने उनीहरुको आरोप छ ।
‘अहिले डेडिकेटेड वा ट्रंक लाइनका नाममा अतिरिक्त शुल्क लिनुपर्ने कुनै कारण छैन् । देशमा लोडसेडिङ छैन्, विद्युत् पर्याप्त छ । भने पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा किन अतिरिक्त शुल्क राखियो ?’ उद्योगी पवन गोल्यान भन्छन्, ‘यसले भोलिका दिनमा उद्योगीसँग बार्गेनिङ गरेर पैसा झार्न सकिन्छ भनेर नै हो ।’
एकातिर देशभित्र उत्पादिन विद्युत् खेर जाने अवस्था आइसकेको छ । यस्तो अवस्थामा अत्यधिक विद्युत् खपत बढाउनुपर्ने प्राधिकरण सामू चुनौती छ । तर, प्राधिकरण अहिले पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा अतिरिक्त शुल्क लिनेतिर अघि बढेको उद्योगीहरुले बताएका छन् ।