काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका श्रमिकहरुलाई उद्धार गर्न ढिलाई गरेपछि नेपालीहरु श्रमिकहरुले मनस्थिति परिबर्तन गर्न थालेका छन् । सरकारले पहिलो चरणमा २५ हजार नेपालीहरु उद्धार गर्ने निर्णय गरेपनि जहाज भाडा र क्वारेन्टाइनमा बस्न लाग्ने शुल्क आफैले तिर्नुपर्ने प्रावधान ल्याएपछि धेरै श्रमिकहरु अहिले विच्कीएका छन् ।
विदेशमा भाइरस संक्रमण चरम अवस्थामा रहदा धेरै नेपालीहरु स्वदेशमा फर्कन चाहिरहेका थिए । तर, अहिले विदेशमा भन्दा नेपालमा संक्रमण बढ्न थालेपछि फाराम भरेका मध्ये २ हजार भन्दा बढीले नफर्कने वातावरण मिलाउन आग्रह गरिरहेको कतारका राजदूत डा.नारद भारद्ध्वाजले बताए ।
नेपालमा भन्दा विदेशमै सुरक्षीत देखेको र केहि समय काम गरेर अवस्था सामान्य भएपछि फर्कने मनस्थीति उनीहरुले बनाएको राजदूत भारद्ध्वाजले बताए । नेपाल फर्कन चाहनेहरु मध्ये धेरैले अहिले काम मिलेमा पुनः काम गर्ने सोच बनाएको उनको भनाई छ ।
चार्टर्ड मार्फत आउदा भाडापनि महंगो हुने भएकोले श्रमिकहरु फर्कन नचाहेका हुन् । नेपाल फर्कदा कामदारलाई सम्बन्धित कम्पनीले नै रिटर्न टिकट उपलब्ध गराउँछ । जसले गर्दा कामदारले कुनै शुल्क बेहोर्नु पर्दैन । तर, चार्टड गर्दा कामदार आफैले लगभग दोब्बर शुल्कमा टिकट किन्नुपर्ने हुन्छ ।
युएईमा कार्यरत दिलकुमार कार्कीले रिर्टन टिकट कम्पनीले नै बेहोर्ने भएकोले व्यवसायीक उडान खुला गर्नुपर्ने पक्षमा कामदारहरु रहेको बताउछन् । ‘कि हामीलाई सरकारले निशुल्क रुपमा नेपालमा लैजाओस, हैन भने यही काम गर्ने वातावरण मिलाओस्’ कार्कीले भने ।
कतारमा मात्र हैन, अहिले मलेसिया सहित विभिन्न खाडी मुलुकबाट नेपाल फर्कन फाराम भरेकाहरु विदेशमै केहि समय त्यहि काम गर्ने मनस्थीति बनाउन लागेका छन् । मलेसियाका लागी नेपाली राजदूत उदयराज पाण्डेले चार्टर्डको भाडा र सरकारले समय निर्धारण नगर्दा श्रमिकहरु अन्यौलमा परेको बताए । ‘नेपाल फर्कन ढिला हुने अवस्था आए बरु केहि समय फेरी यतै काम गर्ने सोच बनाउन लागेका छन्,’ राजद्रत पाण्डेले भने ।
अहिले विदेशमा भाइरसको संक्रमण केहि कमी आएसँगै त्यहाँ बन्द भएका उद्योग कलकारखानाहरु सञ्चालन हुन थालेका छन् । त्यो सँगै नेपालीहरु भिषा थप गरेर भएपनि काम गर्ने वातावरण मिलाइ दिन दूतावासमा मौखिक जानकारीहरु आइरहेको जनाएको छ ।
नेपाल फर्कन चाहनेहरु मध्ये केहि विरामीहरु र आममाफी पाएकहरु पनि छन् । उनीहरुलाई भने नेपाल फर्काउन आवश्यक रहेको गैरआवासीय नेपालीहरुको भनाई छ ।
गैरआवासीय नेपाल संघ(एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले विरामी, असक्त, घाइते र गर्भवती महिलाहरु धेरै भएकोले उनीहरुलाई फर्काउन ढिलाई भइसकेको बताए । यस विषयमा पटक पटक आग्रह गरिएको भएपनि सरकारले बेवास्था गरेको उनको भनाई छ ।