काठमाडौं । मलेसियाको एक कम्पनीमा काम गर्दागर्दै बिरामी भएका लमजुङका कृष्ण गुरुङ दुई महिनादेखि नेपाल फर्कने समय कुरेर बसेका छन् ।
शुरुमा कम्पनीले बिदा नदिए पनि पछि रोगले चाप्न थालेपछि आफ्नै खर्चमा नेपाल फर्कने तयारीमा थिए । तर, अचानक कोरोना महामारीका कारण बन्दाबन्दी (लकडाउन) शुरु भयो ।
लकडाउनसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनको नेपाल आउने सपना अधुरै रह्यो । बिरामी भएपछि कम्पनीले पनि निकालिदिएको कारण अहिले उनी मलेसियामै साथीको कोठामा बसिरहेका छन् ।
उनले १३ मे २०२० मा गैरआवासीय नेपाल संघ (एनआरएनए) मलेसियालाई आवश्यक उपचारको प्रवन्ध मिलाई दिन निवेदन समेत दिएका थिए ।
अहिले मलेसियामा करिब १५० जना बिरामी रहेको एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । त्यहाँ अधिकांश मृगौलामा पानी जमेका, मेडिकल फेल भएका विरामीहरु छन् ।
उनीहरुलाई तत्कालै नेपाल फर्काउन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भिडियो कन्फ्रेन्स मार्फत जानकारी गराईएको महिनादिन हुँदा हाल सम्म सरकारले बेवास्ता गरेको उनको भनाई छ ।
त्यतिमात्र हैन, दैनिक ५० देखी १०० जनाको करार अवधि सकिएको हुन्छ । उनीहरुलाई पनि नेपाल फर्काउन समस्यामा भइरहेको उनले बताए । विरामीसँगै अहिले ७ हजार नेपालीहरु तत्कालै घर फर्कन चाहनेहरु छन् ।
करार अवधि सकिएका, भिसा सकिएका, अवैध रुपमा बसेकादेखि कम्पनी बन्द भएकाहरु छन । मलेसियामा हाल ५ लाख नेपालीहरु रहेका छन् ।
सरकारले केहि दिनअघि विदेशमा समस्यामा परेका २५ हजार नेपालीहरुलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरेको थियो ।
१० दिन भित्रमा उद्धार गर्ने निर्णय गरेको सरकारले अहिलेसम्म क्वारेन्टाइनकै टुंगो लगाउन सकेको छैन । विदेशमा रहेका नेपालीहरुलाई हवाई टिकेटको कति खर्च लाग्छ , र क्वारेन्टाइनको खर्च समेत कुनै जानकारी नदिइएको बताइएको छ ।