काठमाडौं । सरकारले नेपाल नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेको हो ।
अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा बसेको समितिको बैठकले पूर्व सचिव केशव भट्टराई, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीलाई शिफारिश गरेको थियो ।
गभर्नरका लागि भट्टराई, शिवाकोटी र अधिकारी शिफारिश, कस्ले मार्ला बाजी ?
भट्टराई र शिवाकोटीलाई पछि पार्दै अधिकारीले केन्द्रीय बैंकको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका छन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको जानकारी दिएका छन ।
अधिकारी लगानी बोर्डको सीईओ रहेका छन । गभर्नर नभएको भए उनले लगानी बोर्डबाट आउँदो असारमा अवकास पाउने थिए । अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग सपथ लिएर गभर्नरको कार्यभार सम्हाल्ने छन्।
नवनियुक्त गभर्नर अधिकारी चाटर्ड एकाउन्टेट हुन । यसैगरी उनले बिजिनेस एड्मिनिस्ट्रेसनमा स्नातकसम्मको अध्ययन गरेका छन।उनको बैंकिङ्ग र नियमनमा राम्रो दख्खल रहेको छ । राष्ट्र बैंकको गभर्नर हुनेमा अधिकारी पहिलो चाटर्ड एकाउन्टेन्ट हुन ।
अधिकारीसंग ३ दशक लामो बैंकमा अनुभव छ। केन्द्रीय बैंकमा उनले वित्तीय ब्यवस्थापन, बैंकिङ, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर उनले काम गरिसकेका छन्।
तत्कालिन गभर्नर तथा हालका अर्थमन्त्री खतिवडाले कार्यकारी निर्देशकहरु मध्ये १३ औं नम्बरमा रहेका अधिकारीलाई डेपुटी गभर्नर बनाएका थिए ।
अधिकारी यसअघि गभर्नरको सिफारिसमा परेका थिए। अधिकारीसंगै डा. चिरञ्जिबि नेपाल र तत्कालिन डेपुटी गभर्नर गोपाल काफ्ले गभर्नरको सिफारिस परेका थिए। तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको जोडमा डा. नेपाल गभर्नर बनेका थिए । तत्कालिन गभर्नर नेपाल पाँच बर्षे कार्यकाल पुरा गरेर गत ५ गते अवकाश पाएका छन ।
आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्ति र एकजना डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ।