काठमाडौं । ग्यास विक्रेताहरुले उपभोक्ताको अनुहार हेरेर सिलिण्डर सटहीमा फरक फरक शुल्क असुल्ने गरेका छन् । एक ब्राण्डको सिलिण्डरसँग अर्को ब्राण्डको सिलिण्डर साट्नुपर्दा बिक्रेताले खुलेआम १ हजार रुपैयाँसम्म असुलेको नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठ आफै स्विकार्छन् ।
ग्यास सिलिन्डर साट्दा मारमा पर्नेमा बसाई सर्नेहरु तथा कोठा सर्नेहरु परेका छन् । रोजगारीका लागि एक ठाउँबाट अर्को ठाउँमा जानु पर्ने बाध्यतालाई ग्यास बिक्रेताहरुले ठगि गर्ने अवसरको रुपमा लिएको उपभोक्ताहरुको गुनासको छ । उपभोक्तालाई कुन ठाउँमा कुन उद्योगको ग्यास पाइन्छ भन्ने जानकारी हुदैन ।
कोठा नजिक जुन ब्राण्डको ग्यास छ सोहि लिनुपर्ने बाध्यताले ठगिन बाध्य हुनुपर्छ । ‘ग्यासको ब्राण्ड हेरेर १ हजार देखि बिक्रेताले बार्गेनिङ गर्छन,’ एक उपभोक्ताले भने, ‘अन्तिममा २ सयसम्ममा पनि कुरा मिलाउने गरेका छन ’ । यसरी विक्रेताले उपभोक्ताको अनुहार हेरेर ग्यास सटहिको रकम असुल्ने गर्छन् ।
तर, सिलिन्डर सटहि गर्दा बढी पैसा दिनुपर्ने कुनै प्राबधान नभएको नेपाल ग्यास विक्रेतामहासंघका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘विक्रेताहरुको एकाधिकार बढेकोले यस्तो भएको हो, तर सिलिण्डर साट्दा थप पैसा दिनु पर्ने प्रावधान कहि छैन,’ अध्यक्ष श्रेष्ठले भने, विक्रेताले आफुखुसी ३ देखी ४ सय रुपैयाँ सम्मलिने गरेका छन्, यो गलत हो ’ ।
अहिले काठमाडौं उपत्यकालगायत बाहिर जिल्लामा पनि ग्यास साटिदिने समूह नै सक्रिय छ । सरकारी निकाय वाणिज्य विभागबाट लाइसेन्स नै लिएर ग्यास सिलिण्डर साट्ने व्यवसाय गर्दै आएका छन् । उक्त समूहले १ सय देखी १ सय ५० रुपैयाँसम्ममा जुनसुकै उद्योगको सिलिण्डर साट्छन् ।
‘ग्यास उद्योगीलाई सहज होस् भनेरै हामीले पनि यसमा सहमति जनाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने ‘तर, विक्रेताहरुले त्यसको दोब्बर पैसा लिइरहेका छन्’ । श्रीकृष्ण, ओम, साइबाबाको सिलिन्डर साट्दा १ सय रुपैयाँ र बाबा, त्रिवेणी, श्री लगायतका सिलिण्डर १ सय ५० रुपैयाँमा शुल्क लिने गरेका छन् ।
यसरी ग्यास सिलिण्डर साट्दा थप पैसा लिनु गैर कानुनी भएपनि नियामक निकाय बेवास्ता गरेर बसेको छ । सरकारी निकाय मौन भएको फाइदा उठाएर बिक्रेताहरुको आँट बढेको नेपाल उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।
याे पनि पढ्नुहाेस्
ग्यास बिक्रेताको खुलेआम लुट, नियामक निकाय माैन