काठमाडौं । हरेक क्षेत्रबाट ठगिँदै आएका उपभोक्तालाई ग्याँस बिक्रेताले पनि वर्षौदेखि लुटिरहेका छन् । ग्याँस बिक्रेताले सिलिन्डर सटही गर्दा चर्को शुल्क लिएर लुट मचाइरहेका उपभोक्ताले गुनासो गरेका छन् ।
बिक्रेताले उपभोक्ताबाट सिलिन्डर सटहीमा ३ सयदेखि ४ सय रुपैयाँसम्म लिँदै आएका छन् । एउटा कम्पनीको सिलिन्डर चलाइरहेका उपभोक्ताले अर्को कम्पनीको सिलिन्डर लिनुपर्दा चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । अन्य कम्पनीको तुलनाको नेपाल ग्याँसको सिलिन्डर लिन झन् बढी शुल्क तिर्नुपर्ने बाध्यता छ ।
बिशेष गरेर भाडामा बस्ने उपभोक्ताहरु ग्यास सिलिन्डरको लुटबाट बढी पिडित छन् । उनीहरु एक ठाउँमा बस्दा एउटा कम्पनीको सिलिन्डर चलाइरहेका हुन्छन्, अर्को ठाउँ बसाइँ सर्र्दा त्यो कम्पनीको ग्याँस नै पाइँदैन । जुन कम्पनीको सिलिन्डर त्यहाँ पाइन्छ त्यही लिनुपर्ने भएकोले ४ सय रुपैयाँ तिर्नुपर्ने बाध्यतामा छन् ।
उपभोक्ताले कुन क्षेत्रमा कुन उद्योगको ग्याँस पाइन्छ भन्ने जानकारी लिएका हुँदैनन् । त्यसैलै गर्दा एक ठाउँबाट अर्को ठाउँमा कोठा सरेर जानेहरु बढी मारमा परेको देखिन्छ । त्यति मात्र हैन, बिक्रेताहरुले पनि कुन स्थानमा कुन ग्याँस छ भन्ने जानकारी उपभोक्ताहरुलाई दिँदैनन । जसका कारण पटक–पटक उपभोक्ताहरु ठगिनु पर्ने बाध्यता छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ग्याँस सटहीको नाममा उपभोक्ताबाट थप पैसा लिनु गैरकानुनी भएको बताए । ‘कुन स्थानमा कुन कम्पनीको ग्याँस छ भन्ने उपभोक्तालाई थाहा हुँदैन,’ अध्यक्ष तिमल्सिनाले भने, ‘यसमा नियमन गर्ने निकाय गम्भिर नहुँदा उपभोक्ता लुटिनु परेको हो ।’
ग्याँस बिक्रेताहरुले खुलेआम थप पैसा लिनुमा उपभोक्ताहरुको पनि कमजोरी रहेको उनको तर्क छ । यदि कुनै बिक्रेताले ग्याँस साट्दा थप पैसा मागेमा तत्कालै प्रशासनमा उजुरी हाल्नसमेत उनले आग्रह गरेका छन् ।
अहिले ग्याँस बिक्रेताहरुले उपभोक्ताको अनुहार हेरेर केहीलाई थोरै र केहीलाई धेरै लिने गरेका छन् । उपभोक्ताहरु दैनिक रुपमा ग्याँस सटहीमा लुटिरहेको बेला सरकारीस्तरबाट भने कुनै अनुगमन भएको छैन । अनुगमनालाई कडाई नगरेकै कारण बिक्रेताहरुको एकाधिकार बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमल्सिनाको भनाई छ ।