काठमाडौं । काठमाडौं उपत्यकाभित्र चक्रपथ निर्माणको दोस्रो चरणअन्र्तगत अघि बढेको कलङ्कीदेखि महाराजगन्ज खण्डको सडक विस्तार गर्न रुख कटानको काम सकिएको छ । बिजुलीको पोल र खानेपानीका पाइप सार्ने काममा समस्या देखिएको छ ।
आउँदो बैशाखअघि नै सो खण्डको आयोजना क्षेत्रको काम ‘साइट क्लियरेन्स’ सकेर निर्माणका लागि चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने सरकारी योजनामा समेत धक्का लाग्ने देखिएको हो ।
सो खण्डमा रुख, बिजुलीको पोल, खानेपानी पाइप, दूरसञ्चार तथा सेवाप्रदायकका तार तथा केबलहरु व्यवस्थापन तथा क्लियरेन्स गर्नुपर्छ । अहिलेसम्म रुख कटानको काम अधिकांश काम सकिएको छ ।
त्यसक्षेत्रमा २ हजार ९७ ओटा रुख कटान गर्नुपथ्र्यो । त्यो काम पूरा भएको सडक विभागले जनाएको छ ।तर, पोल, तार र खानेपानीका पाइप क्लियरेन्समा भने केही समस्याका कारण ढिलाइ भएको सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले बताए ।
त्यस्तै, त्यसखण्डमा झन्डै ६०० विद्युतीय पोल र सेवा प्रदायक संस्थाका तारहरु सार्ने काम भने निकै सुस्त छ । उक्त खण्डमा मेलम्ची खानेपानीका लागि बिच्छ्याइएका पाइप हटाउने अर्को मुख्य जटिल काम बाँकी नै छ ।
पाइप हटाउन खानेपानी डिभिजन कार्यालयले तदारुकता नदेखाएको सडक विभागको दाबी छ । पाइप विच्छ्याउँदा लाग्ने लागत रकम पठाइए अहिलेसम्म पाइप सारिएको छैन् ।
कुलेश्वर, बालाजु, बसुन्धारा क्षेत्रका झन्डै ५०० पोल सारिसकिएको आयोजना प्रमुख अमृतमणि रिमालले बताए । उनले पोल र तार सार्न प्राधिकरणले काम गरिरहेको बताए ।
यता, नेपाल टेलिकम लगायतका सेवा प्रदायकका तारहरु पनि स्थानान्तरण हुन सकेका छैनन् । डेढ मिटर पाइप हटाउन गाह्रो भएकाले अहिले यथावत् अवस्थामा राखी सडक विस्तार गर्ने योजना सडक विभागको छ । पोल सार्न प्राधिरकणलाई १० करोड २० लाख रुपैयाँ लागत सडक विभागलाइ पठाइसकिएकोे सडक विभागले जनाएको छ ।
कलंकीदेखि चावहिलको गोपीकृष्ण फिल्म हलसम्म ११ किमि सडक विस्तार गर्न दिने योजना छ । तर, चिनियाँ कम्पनीले भने ८.३ किमि अर्थात् कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको विस्तार तथा निर्माण गर्ने सडक विभागले जनाएको छ ।
उक्त खण्डमा अहिलेको ४ लेन नपुग ८ लेनमा विस्तार हुनेछ । कलंकी–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
मुख्य—मुख्य सहरीक्षेत्रमा आकाशे पुल बन्नेछन् । डीपीआरपछि मात्र कति र कहाँकहाँ पुल बनाउने भन्ने यकिन हुने उनको भनाइ छ ।
सडक खण्डको चिनियाँ कम्पनीले यसअघि नै सर्भे गरिसकेको छ ।
डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनीमार्फत हुनेछ । सो खण्ड चिनियाँ सरकारको अनुदान सहयोगमा बन्नेछ ।
दुई बर्षभित्र सम्पन्न हुनेगरी चिनियाँ पक्षलाइ सडक निर्माण गर्न जिम्मा दिइनेछ । यसअघि पनि पहिलो खण्डअन्र्तगत कलंकी—कोटेश्वर चक्रपथ पनि चिनियाँ सरकारकै सहयोग निर्माण भएको थियो । बैशाखसम्म आयोजनाको काम ‘साइट क्लियरेन्स’ पूरा गर्न प्रधानमन्त्री कार्यालयले समेत दबाब दिँदै आएको छ ।