काठमाडौं । रोजगारीका लागि आकर्षक गन्तव्य मुलुकको रुपमा हेरिएको जापानले वर्किङ्ग भिषामा कामदार लैजाने गरी गत बर्ष नेपालसंग सम्झौता गर्यो । जापानबाट कामको डिमाण्ड कसले ल्याउने र वार्षिक कति कामदार पठाउने भन्ने टुंगो नलाग्दा रोजगारी नै अन्यौलमा परेको छ ।
नेपालबाट पहिलो चरणमा नर्सिङ केयर गिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो ।
लाखौ रुपैया खर्च गरेर अध्ययनका नाममा कामको खोजीमा जाने युवाहरुलाई सरकारसंग भएको सो समझदारीले धेरैलाई आशा पलायो । तर, दुई देशबीच भएको समझदारीले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । जसका कारण रोजगारीका लागि जापान जाने आशमा बसेका धेरै युवाहरु यतिबेला निराश भएका छन् ।
नेपाल र जापानका प्रतिनिधिले गत वर्षको चैत्रमा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । समझदारी हँुदा नेपालबाट कोरियन मोडलमै कामदार लैजाने भनिएको थियो । पछि बस्ने वर्किङ कमिटीले कुन मोडलबाट कामदार लैजाने भन्ने विषयमा टुंगो लगाउने भन्ने सहमति भएपनि त्यो हालसम्म कार्यन्वयनमा आउन सकेको छैन् ।
२०१९ को अप्रिलबाटै कामदार लैजाने घोषणा गरेको जापानले हालसम्म लगेको छैन् । लैजानका लागि तयारी समेत भएको छैन । २०१९ मा जम्मा १७ जना जापान जान योग्य भएका छन् ।
जापान फाउण्डेशनले लिएको परीक्षामा उर्तिण भएकाहरु कहिलेबाट रोजगारीका लागि जाने भन्ने टुंगो नलागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए ।
उनिहरु कहिलेबाट, कुन कम्पनीमा जाने टुंगो नलाग्नु भनेको जापानबाट नेपालमा डिमाण्ड ल्याउने संयन्त्र नै तयार नहुनु हो । मन्त्रालय स्रोतका अनुसार जापानबाट नेपालमा डिमाण्ड ल्याउने संयन्त्र तयार नभएकै कारण ढिलाई भएको हो ।
“दुई देशबीच समझदारी गर्दा नै यस विषयमा टुंगो लगाउनु पर्ने हो, मन्त्रालयका एक अधिकारीले क्यापिटल नेपालसंग भने, यसमा नेपाल चुकेकै हो । ”जापानबाट त्यहाँका रोजगारदाताहरुले त्यहाँ रहेको नेपाली दूतावासमा प्रमाणीकरण गरेपछि नेपालमा डिमाण्ड ल्याउनु पर्ने हो ।
तर, मन्त्रालय आफैले जापानमा गएर त्यो डिमाण्ड ल्याउन नमिल्ने भएको कारणले भाष परीक्षामा पास भएका १७ जना युवाहरु कामको लागि जान नपाएका हुन् । यति मात्र हैन २०२० मा परीक्षामा सहभागिहरु पनि कहिले र कसरी जाने भन्ने टुंगो लाग्न सकेको छैन् ।
अहिले नेपालले डिमाण्ड ल्याउने र परीक्षामा धेरैभन्दा धेरै युवाहरुले सहभागिता जनाउने वातावरण बनाउने विषयमा जापान सरकारसँग वार्ता गर्न लागिएको उपसचिव ढकालको भनाइ छ ।जापान फाउण्डेशनले यही जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ ।