काठमाडौं । केही साताअघि ह्याचरी उद्योगीको मिलेमतोमा १० दिन कुखुराको चल्ला उत्पादन बन्दका साथै अण्डा पनि नष्ट गरियो । त्यसयता, निरन्तर कुखुराको मासु र अण्डाको मुल्य बढेको बढ्यै छ । पछिल्लो पटक बजारमा कुखुराको मासु र अण्डाको मुल्य अस्वभाविक रुपमा बढेको छ । जसका कारण, मासु किन्ने उपभोक्ता मारमा छन् ।
पछिल्लो पटक कुखुराको मासुको खुद्रा मुल्य प्रतिकेजी ३७० रुपैयाँसम्म पुगेको छ । अण्डाको मुल्य प्रतिक्रेट ३७० रुपैयाँ पुगेको छ । डेढ एक हप्ताअघि कुखुराको मासु ३१० देखि ३२० रुपैयाँसम्म बिक्रि भइरहेको थियो ।
यता, अण्डा प्रतिक्रेट ३२० रुपैयाँसम्म पाइन्थ्यो । छोटा अवधिमै विचौलिया व्यापारीका कारण मूल्य अस्वभाविक बढेको उपभोक्ताकर्मी बताउँछन् ।
उपभोक्ता संरक्षण ऐन विपरित गएर ह्याचरी उद्योगीले उत्पादन रोक्दा पनि अहिले मासु र अण्डाको मुल्य बढेको देखिन्छ । ‘दुई वा दुईभन्दा बढि व्यक्ति वा समुह मिलि माग र आपूर्तिमा प्रतिकूल प्रभाव पार्न नहुने’ ऐनमा उल्लेख छ । तर, ऐनका बर्खिलापमा ह्याचरी उद्योगीले मिलेमतोमा १० दिन उत्पादन रोक्दा पनि सरकारले कुनै काम कारबाही गरेन ।
ऐन विपरीत ह्याचरीले उत्पादन रोकेकाले कारबाही गर्नुपर्ने भन्दै उपभोक्ताकर्मीहरुले विभागमा उजूरी पनि दिए । तर, सामान्य सोधपुछ बाहेक ‘एक्सन’ अघि बढाइएन् । ‘ऐनमा दुई वा सोभन्दा बढि व्यक्ति वा समूह मिलि माग र आपूर्तिमा प्रतिकूल प्रभाव पार्न नहुने भनेर उपभोक्ता संरक्षण ऐन स्पष्ट व्यवस्था गरेको छ ।
ऐनको ठाडो बर्खिलापमा हुने गरी ह्याचरीले चल्ला र उत्पादन रोके’ उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ताकर्मी माधव तिमल्सिना भन्छन, ‘तत्काल ऐन बमोजिक कारबाही गरिपाउँ भनेर मैले वाणिज्य विभागमा उजुरी गरे। त्यसपश्चात, बाध्य भएर कुखुरा, अण्डा व्यापारीलाइ बोलाएर छलफल मात्रै गर्यो । तर, कारबाही प्रक्रिया अघि बढाएन्’
अहिले तिनै ह्याचरी उद्योगीको कार्टेलिङले कुखुराको मासु र अण्डा ३५० भन्दा माथि पुग्दा पनि नियमन गर्ने निकाय ‘तै चूप मै चूप’ को अवस्थामा रहेको तिमल्सिना बताउँछन् ।
‘उपभोक्ता ठगिने गरी ह्याचरीले आफुखुसी मुल्य बढाउँदा पनि सरकारी निकाय मौन हुनु भनेको व्यवसायीको प्रभाव र ऐनको दफा दफा उल्लंघन गर्नु हो’ उनी भन्छन । ह्याचरी उद्योगीले अझै मूल्य बढाएर केजीको ४०० रुपैयाँसम्म पुर्याउने चलखेल गरेको उनको तर्क छ ।
पोल्ट्रीक्षेत्रका व्यवसायीका अनुसार, मुल्य बढ्नुका पछाडी माउ कुखुरा(प्यारेट) बजारमा पर्याप्त नआउँदा र किसानले चल्ला नहाल्नु रहेको बताउँछन् । कुखुरापालक किसान भने दानाको मूल्य बढेको र उत्पादन लागत नउठेको भन्दै चल्ला नराख्दा भाउ बढेकोे कुखुपालक किसान संघका अध्यक्ष झनक पौडेलले बताए ।
यता, अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षणले विभागले भने कुखुराको मासु र अण्डाको मुल्य बढ्न नहुने बताउँछ । मुल्य बढेको खण्डमा व्यापारीलाइ कारबाही गर्ने जनाएको विभागले अहिले अनुगमन नै गरेको छैन् ।
‘यसबारेमा हामी गम्भिर छौं । विशेष अनुगमनका रुपमा पुन दोहोर्याएर अनुगमन गर्ने प्लान बनाउँदैछौं’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘हामी छिट्टै अनुगमन गर्छौ र मुल्य बढाउने व्यापारी उपर कारबाही गर्छौ ।’