काठमाडौं । ह्याचरी उद्योगीहरुको सिन्डिकेटको प्रभावले अन्ततः कुखुराको मासु र अण्डाको मुल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । पछिल्लो एक हप्ताभित्र कुखुराको मासु प्रतिकेजी ६० रुपैयाँ र अण्डा क्रेटमा ५० रुपैयाँ मुल्य वृद्धि भएको हो ।
अहिले बजारमा कुखुराको मासु प्रतिकेजी ३६० रुपैयाँ पुगेको छ । अण्डा क्रेटको ३७० रुपैयाँ सम्ममा व्यापारीले बिक्री गरिरहेका छन् ।
एक हप्ताअघि कुखुराको मासु ३१० रुपैयाँ प्रतिकेजी थियो । अण्डा प्रतिक्रेट ३२० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो । यसअघि ह्याचरी उद्योगीहरुले १० दिनसम्म अण्डा र चल्ला उत्पादन बन्द गराउँदा अहिले बजारमा मागअनुसारको माउ कुखुरा (प्यारेट) आपूर्ति हुन सकेको छैन् । जसका कारण व्यापारीले प्यारेट कुखुरा नपाएको भन्दै अस्वभाविक मुल्य बढाइरहेका छन् ।
अहिले फ्रेस हाउसपिच्छे कुखुराको मासु र अण्डाको मुल्य फरक छ । माउ कुखुरा बजार पर्याप्त नआएका कारणले पनि मासुको मुल्य बढेको एक फ्रेस हाउसका व्यापारी बताउँछन् ।
ह्याचरीको सिन्डिकेटले मासुको मूल्य बढाउन चल्ला उत्पादन रोकियोे, सरकार भन्छ-व्यापारीको निर्णयमा हस्तक्षेप गर्न मिल्दैन
दाना लगायतको उत्पादन लागत बढेको भन्दै किसानले चल्ला नै नराखेका कारणले अहिले बजारमा माउ कुखुरा सप्लाइ कम हुँदा मुल्य बढेको ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले बताए ।
ह्याच उत्पादन १० दिन रोकेको र अण्डा नष्ट गरेकोले मात्रै अहिले मासुको मुल्य बढ्न पुगेको कुरा उनले इन्कार गरे । ‘किसानले कुखुराका चल्ला नै राख्दैनन् । चल्ला राख्ने त किसानले नै हो’ उनले भने, ‘चल्ला नष्ट गरेको कारणले होइन् मुल्य बढेको ।’
यता, विगतमा विभिन्न फर्महरुले भएका चल्ला डम्पिङ गर्नुपर्दा र दानाको मुल्य बढेकाले पनि मुल्य बढेको कुखुपालक किसान संघका अध्यक्ष झनक पौडेलले बताए । उनका अनुसार, किसानले प्रतिकेजी २२६ रुपैयाँमा कुखुरा बिक्री गर्दा पनि घाटा हुँदैन् । उनले ३३० रुपैयाँ भन्दा बढि मुल्य हुनु व्यापारीको कालोबजारी रहेको औल्याए ।
एक त चल्ला उत्पादक किसानले उत्पादन लागत पाउन सकेका छैनन् । यता, बिचौलिया व्यापारीकै कारणले आम उपभोक्ता कुखुराको मासुको मुल्य ठगिनुपरेको छ ।बजार अनुगमन गर्ने नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग मुल्य बढ्यो भने मात्रै अनुगमन गरी व्यापारीलाइ कारबाही गर्ने बताउँछ ।
कुखुराको अभाव गराएर मुल्य बढाउने जो सुकै बिचौलिया व्यापारीलाइ नछाड्ने र अनुगमन गरी कारबाही हुने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।