काठमाडाैं । उखु किसानको बक्यौता नतिर्ने लुम्बिनी चिनी उद्योगका सञ्चालकलाई पक्राउ गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाएको छ ।
उखु किसानहरुको बक्यौताको बिषयमा मन्त्रालयले पटक पटक बोलाउदा पनि उपस्थित नभएपछि चिनी उद्योगका सञ्चालक स्व. राकेश कुमार गोयलकी श्रीमती सुनिता गोयललाई पक्राउ गरि सहयोग गर्न उद्योगले गृह मन्त्रालयलाई पत्र पठाएको हो । नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
त्यस्तै ठूलो परिमाणमा बाँकी रहेको किसानको भुक्तानी नगर्ने अन्नपूर्ण चिनी उद्योगको खाता रोक्का गर्ने मन्त्रालयले निर्णय गरेको छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले माघ ७ को भाका कट्दासम्म ३ करोड ९० लाख रुपैयाँ मात्र किसानलाई दिएको छ ।
अझै ३९ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले उद्याेगकाे खाता राेक्न सम्बन्धित निकायमा पत्राचार गर्ने जनाएकाे छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।
त्यस्तै नवलपरासीकाे इन्दिरा सुगर मिलकाे खाता पनि राेक्का गरिने मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ । साे मिलकाे किसानलाइ दिन बाँकी रकम ८ कराेड २० लाख छ । मिल सञ्चालक अहिले सम्पर्क बिहिन छ ।
यी उद्योगहरुका उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । साथै उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ ।
मन्त्रालयकाअनुसार महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाद र बाबा बैजुनाथ चिनी मिलले पनि किसानको रकम दिन बाँकी छ ।
याे पनि पढ्नुहाेस्
उखु किसानका पीडा