काठमाडौं । गत पुस १८ गते उद्योग मन्त्री लेखराज भट्टले उखु किसान, चिनी मिल सञ्चालकलाइ एकै ठाउँमा राखेर पाँच बुँदे सहमति गराए । जसमा, चिनी उद्योगीले उखु किसानलाइ तिर्नुपर्ने भुक्तानी ८० प्रतिशत २५ दिनभित्र र माघ ७ गतेसम्म सम्पूर्ण रुपमा भुक्तानी दिने सहमती भयो ।
त्यसमा उद्योगीले पनि सो अवधिमै आफुले उखु किसानलाइ तिर्ने भुक्तानी चुक्ता गर्ने प्रतिवद्धता व्यक्त गरे । उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषयमा समेत सहमति गर्दै उखु किसानले आन्दोलन स्थगित गरे ।
तर, भुक्तानी दिने सम्झौता भएको दिनसम्म पनि चिनी उद्योगीले उखु किसानको भुक्तानी दिन सकेका छैनन् । चिनी उद्योगीले उखु किसानलाइ तिर्नुपर्ने भुक्तानी १ अर्ब ३४ करोड रुपैयाँ हो । त्यसमध्ये, सरकारसँग सहमति भएपछि उद्योगीले मुस्किलले १५ करोड रुपैयाँ भन्दा बढि भुक्तानी दिएका छैन् । अर्थात, सरकारसँग माघ ७ भित्रै भुक्तानी दिने बाचा गरेका उद्योगीले सवाँ अर्ब रुपैयाँ दिएका छैनन ।
यसबाट सरकारले चिनी मिल सञ्चालक सँग गरेको सहमति पूरा गर्न नसकेको पुष्टि भएको छ । एक उखु किसानका अनुसार, चिनी मिल सञ्चालकसँग भुक्तानी माग्ने सन्दर्भमा सरकारले त अनुदान दिन सकेको छै हामीले किन भुक्तानी दिने भन्ने जवाफ समेत पाएको गुनासो गरे ।
चिनी मिल सञ्चालकले पटक पटक भुक्तानी दिने आश्वासन दिएपनि भुक्तानी नगरेपछि केही हप्ताअघि सर्लाहीबाट झन्डै १०० जनाभन्दा बढि किसान काठमाडौं आएर आन्दोलन गरेका थिए ।
उखु किसानको काठमाडौंमा दुइ हप्ता लामो विरोध र आन्दोलन पछि सरकारले चिनी उद्योगीलाइ बोलाएर छलफल गरी सहमति समेत गराएको थियो ।
कुन–कुन चिनि मिलले दिएनन् भुक्तानी
सरकारसँग भुक्तानी दिने बाचा गरेको अधिकांश चिनी उद्योगले किसानलाइ भुक्तानी दिएका छैनन् । हालसम्म महालक्ष्मी सुगर मिल २० करोड भुक्तानी गर्नुपर्ने मध्ये ११ करोड, अन्नपूर्ण सुगर मिलले ३२ करोड रुपैयाँमध्ये ३ करोड, इन्दिरा सुगर मिल ९ करोड मध्ये ८० लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।
ती बाहेक अन्य कुनै पनि चिनी मिलले भुक्तानी नदिएको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । सरकारसँग सहमति गरेको चिनी मिलवालाले अझै सवाँ १ अर्ब रुपैयाँ नदिएको बताए । चिनी मिलवालाले उखु किसानलाइ १ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी बाँकी थियो ।
ती बाहेक बागमति सुगर मिल, लुम्बिनी सुगर मिल लगायतका आधा दर्जन उद्योगले किसानलाइ बक्यौता दिन बाँकी छ ।
अनुदान नदिएर सरकारबाटै ठगिए किसान
ऊखु किसान चिनी उद्योगीबाट मात्र होइन सरकारबाट समेत पीडित भएका छन् । सरकारले आफुले उखु किसानलाइ प्रतिक्विन्टल उखु विक्रिबापत किसानलाइ दिने ६५ रुपैयाँ अनुदान रकम समेत दिन सकेको छैन् । सरकारले अनुदानबापत उखु किसानलाइ १ अर्ब ३४ करोड रुपैयाँ अनुदान रकम दिन बाँकी छ । सरकारले आफुले दिने अनुदा नै नदिएपछि उद्योगीले पनि आफ्नो भुक्तानीमा अल्झ्याउन बाटो भएको सर्लाही एक उखु किसानको दुखेसो छ ।
उनी भन्छन् ‘हामी उद्योगीबाट मात्र ठगिएका छैनौं । यहाँ सरकारले नै दिनुपर्ने अनुदान पनि नदिएर ठगियौं । मिलवालाले पनि सरकारले त दिएको छैन हामीले किन दिने भन्छन् । सरकारले अनुदान नै नदिँदा उद्योगी दिनपर्छ भनेर बाध्य भएनन् ।’ त्यस्तै, आव २०७४÷०७५ मा पनि २ करोड भुक्तानी अझै दिएको छैन् ।