काठमाडौं । नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ ।
लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मङ्सिर १ गतेदेखि ३ गते सम्म चल्ने लुम्बिनी समाचार महोत्सव (न्यूज फेस्टिभलको) क्रममा देशका छापा, रेडियो, टिभी र अनलाइन मिडियाका सम्पादक तथा देशैभरबाट आउने पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्नेगरी तयारी गरेको प्रेस क्लबका अध्यक्ष तथा लुम्बिनी न्यूज फेस्टिभल मूल आयोजक समितिका संयोजक दिपेश पछाईंले बताए।
कार्यक्रममा देशका स्थापित वरिष्ठ सम्पादक र पत्रकार गरी ३०० जनाको सहभागिता रहनेछ । कार्यक्रममा देशभरबाट प्रकाशित पत्रिका पनि प्रदर्शनीका लागि राखिने बताइएको छ ।
लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा हुने तीनदिने न्यूज फेस्टिभलले नेपाली पत्रकारिता जगत्मा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।
कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल हुनेछ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरु किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, राससका अध्यक्ष हरिहर अधिकारी, रघु मैनाली, मोहन मैनाली र सात प्रदेशका पत्रकार महासङ्घका अध्यक्षलगायत उपस्थिति रहने निश्चित भएको आयोजकले बताएका छन् ।
यसैगरी दोस्रो दिन बिहान मायादेवी मन्दिर अगाडि ध्यानगुरुमार्फत ध्यान हुनेछ । त्यसलगत्तै ‘पत्रकारिता ः चुनौती र भविष्यको बाटो’ भन्ने विषयमा समूहगत छलफल हुनेछ । त्यसैगरी सोही दिन ‘सङ्घीयतामा रेडियो’ विषयमा छलफल हुनेछ । त्यसपछि सहभागीहरुलाई बुद्धको अष्टधातु रहेको रामग्राम नवलपरासी भ्रमण गराउने कार्यक्रम रहेको छ ।
रामग्रामको कार्यक्रम नेपाल पत्रकार महासङ्घ नवलपरासीले संयोजन गर्ने भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा अर्को सत्र सम्पन्न हुनेछ । उक्त सत्रपश्चात ‘सङ्घीयतामा समावेशी सञ्चार’ विषयमा छलफल हुनेछ । यसरी पहिलो दिनको सत्र समापन हुनेछ