काठमाडौं । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना बनाउन ७.५ प्रतिशत ब्याजमा ऋण लिएको छ ।
नेपाल वाटरले विभिन्न ९ ओटा विदेशी बैंकहरुबाट सहुलियत र व्यापारिक दर (कमर्शिय लोन) ऋण लिएको हो । आयोजना बनाउन न्युनतम २ देखि साढे ८ प्रतिशतसम्म ब्याजमा ऋण लिएको नेपाल वाटरका महाप्रवन्धक गिरिराज अधिकारीले बताए । उनले औसत वार्षिक ब्याजदर साढे ७ प्रतिशत पर्ने जानकारी दिए ।
विदेशी बैंकबाट व्यापारिक दरमा ऋण लिदा नेपालमा जलविद्युत आयोजना निर्माण हुन्छ भन्ने आधार तयार भएको छ । यो आयोजनाले ब्याजदरको आधार पनि तय गरेको छ ।
कम्पनीले २१६ मेगावाटको माथिल्लो त्रिशूली १ आयोजना बनाउन विदेशी बैंकबाट ४५ करोड ३२ लाख अर्थात ५० अर्ब रुपैयाँ ऋण लिएको छ । आयोजनामा अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले भने सहुलियत ऋण दिएको छ । बाँकी अन्य बैंकले व्यापारिक दरमा कर्जा दिने भएका छन ।
आयोजनालाई ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाइने छ । आयोजना बनाउन ६४ करोड ७३ लाख अमेरिकी डलर अर्थात ७० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ४५ करोड ३२ लाख डलर अर्थात ५० अर्ब रुपैयाँ ९ ओटा विदेशी बैंकले लगानी गर्नेछन । आयोजना बनाउन ५ वर्ष लाग्नेछ ।
आयोजना सन २०२४ को अन्त वा सन २०२५ को वैशाखसम्म सकिने उनले जानकारी दिए । काम सुरु गरेको ५ वर्षमा आयोजनाबाट बिजुली उत्पादन सुरु हुने छ ।
आयोजना डेलिम इन्ड्रस्ट्रियल कम्पनी लिमिटेड र क्येर्योङ कन्ट्रक्सन इन्ड्रस्ट्रियल कम्पनी लिमिटेडको संयुक्त उपक्रम (जेभी) ले इञ्जिनीयरिङ, खरीद र निर्माण (इपीसी) ढाँचामा निर्माण गर्नेछ । दुबै कम्पनी आयोजनाको लगानीकर्ता पनि हुन ।
आयोजनामा विश्व बैंक समूहको आइएफसीले १६ करोड १३ लाख, एसियाली विकास बैंक (एडीबी) ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियाली आयात निर्यात (एक्जिीम) बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंक (केडीबी) ले ३ करोड ८ लाख डलर आयोजनामा ऋण लगानी गर्ने छन् ।
यसैगरी, सिडिसी ग्रुपको २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) को १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन (प्रोपारको) १ करोड १० लाख र अन्तराष्ट्रिय विकासका लागि ओपेक फण्डको (ओएफआइडी) १ करोड ३२ लाख डलर ऋण लगानी रहने छ ।
द बैंक अफ न्यूयोर्क मेलनले ‘अफसोर एकाउण्ट’ र नेपाल इभेस्टमेन्ट बैंकले ‘अनसोर एकाउण्ट’ बैकका रुपमा काम गर्ने समझदारी भएको छ । आयोजनाले प्रभावित रसुवाका स्थानीयबासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ ।
सेयर हिस्सा ९० प्रतिशत कोरिया र १० प्रतिशत जेड कन्सल्ट नेपालीको छ । नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२, डेलियमको १६ र केर्योङको १०, आईएफसीको १२ तथा स्थानीय लगानीकर्ता जेडको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।