काठमाडौं । प्रस्तावित ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजनाको निर्माण गर्न लगानी बोर्ड र दुई प्रवद्र्धकसंग समझदारीपत्र (एमओयू) हुने भएको छ ।
एमओयू गर्न लगानी बोर्ड, प्रवद्र्धकद्धय पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच छलफल भइरहेको छ । केही दिनभित्रै एमओयू गर्ने तयारी छ ।
प्रवद्र्धकसंग छलफल भइरहेकाले छिट्टै एमओयू हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । उनले आयोजनाको आर्थिक तथा प्राविधिक पक्षमा छलफल भइरहेको सुनाए । लगानीकर्ताले दिने र लिने सुविधाको विषयमा छलफल भइरहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच एमओयू भएको थियो । लगानीकर्ताले लगानी बोर्डसंग एमओयू गर्न बाँकी छ ।
साझेदार पावर चाइना र एचआईडीसीएलले २ वर्षभित्र आयोजनाको निर्माण सुरु गर्ने कार्ययोजना बनाएकाक छन । दुवै आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) २ महिनाभित्र सुरु हुनेछ । २ वर्षभित्र डीपीआर काम र लगानी जुटाएर तमोर आयोजनाको निर्माण सुरु हुने एचआईडीसीएलका सीईओ छविराज पोखरेलले बताए ।
डीपीआर तयारपछि मात्र आयोजनाको वास्तविक क्षमता र लगात निर्धारण हुने छ । आयोजनाको क्षमता बढ्ने संभावना छ । यद्यपी नेपाल विद्युत प्राधिकरणले संभाव्यता अध्ययन गरेको छ ।
तमोर आर्थिक रुपमा आकर्षक नभएको उसको अध्ययन प्रतिवेदनले देखाएकाके छ । एचआईडीसीएल र पावर चाइनाले डीपीआर बनाएपछि आयोजनाको वास्तविक विवरण आउने छ । तमोर बनाउन पौने २ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ ।
तमोर जलाशय आयोजना लगानी बोर्डमा छ । एचआईडीसीएल र पावर चाइनाले लगानी बोर्डसंग आयोजना विकास सम्झौता (पीडीए) गर्नुपर्छ । तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी सुनिश्चित गरिएको छ । नेपाललीले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन ।
पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर पाएका हुन । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सार्वजनिक – निजी साझेदारी (पीपीपी) खाकामा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो ।
गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जातर्फ सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो ।
हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङन गरेको थियो । समितिको मूल्याँकनअनुसार नै एमओयू भएको हो । तमोर आयोजनाबाट पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्ला प्रभावित हुनेछ ।