काठमाडौं । आउँदो वर्षाददेखि मुलुक बिजुलीमा आत्मनिर्भर हुने भएको छ । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी र ४२ मेगावाटको मिस्त्रीखोलालगायत साना ठुला गरी डेढ दर्जन आयोजना सम्पन्न हुने भएकाले आउँदो असारदेखि केही महिना बिजुली उत्पादन माग भन्दा बढी हुने देखिएको हो ।
आगामी वर्षदेखि वर्षादको ६ महिना आन्तरिक उत्पादनले पुरै धान्ने र हिउँदमा भारतबाट केही आयात हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले इनर्जी बैङकिङ गरेर वर्षादमा बढी हुने बिजुली भारतमा निकासी र हिउँदमा भारतबाटै केही खरिद गर्नुपर्ने अवस्था आउन सक्ने उनले सुनाए ।
क्यापिटल नेपालसँग कुरा गर्दै घिसिङले भने ‘यो वर्षदेखि नै वर्षादमा बिजुली केही बढी भएको छ । आगामी वर्षदेखि वर्षादको ६ महिना आफनै बिजुलीले पुग्ने छ । सुख्खायाममा केही आयात गर्नुपर्ने हुनसक्छ ।’ सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका भएकाले हिउँदमा उत्पादन घट्ने गरेको छ ।
आगामी वर्ष आयात भन्दा पनि बढी बेच्ने योजना प्राधिकरणको छ । चालु आर्थिक वर्षमा सरकारले १ हजार मेगावाट बिजुली थप्ने योजना सार्वजनिक गरिसकेको छ । लक्ष्यअनुसार बिजुली थप भएमा एक वर्षमा जडित क्षमता दोब्बर बढेर २ हजार ५०० मेगावाट नजिक पुग्ने छ ।
लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले गत वर्ष भारतबाट झण्डै २५ अर्ब रुपैयाँको बिजुली आयात गरेको थियो । आगामी वर्षदेखि भारतबाट आयात हुने बिजुलीको परिमाण घट्ने उनले बताए ।
‘हिजोका दिनमा लोडसेडिङ हटाउन ठुलो चुनौतिको थियो भने आजको दिनमा परिदृष्य फरक भएको छ’ घिसिङले क्यापिटल नेपाललाई भने ‘अब लोडसेडिङ अन्त्यपछि उत्पादन भएको बिजुलीलाई कसरी खपत बढाउने मुख्य चुनौति थपिएको छ ।’
‘हिजो लोडसेडिङ हुँदा प्राधिकरण घाटामा थियो । आज बढी भएको बिजुली बेच्न सकने भने घाटामा जान्छ । अबको चुनौति उल्टो भएको छ’ घिसिङ भन्छन ‘अब भरपर्दो, गुणस्तरिय र सुरक्षित ३ ओटा महत्वपुर्ण कुरा पनि पुरा गर्नुछ ।’
उत्पादन भएको बिजुलीलाई २४ सै घण्टा आपूर्ति र बढी भएको बिजुली भारतमा कसरी बेच्ने भन्ने मुल समस्या देखिएको उनले सुनाए । यो वर्षदेखि नै वर्षादमा बिजुली केही बढी भएको उनले जानकारी दिए । बिजुली माग बढाउन विद्युतीय सवारीसाधलाई चार्जिङ स्टेशन निर्माण, इन्डक्सन चुलो प्रयोगमा ल्याउनुपर्ने उनको भनाई छन ।