काठमाडौं । वीरगन्ज स्थित भगवती स्टील उद्योगले आफ्नो एक डिलरलाई ६० दिनमा भुक्तानी गर्ने गरी बैशाखमा छड बिक्री गरेको थियो । उद्योगबाट सामान ‘डिस्प्याच’ हुँदा डिलरले ६० दिनभित्र भुक्तानी गर्ने प्रतिवद्धता सहित सामान लिए पनि ५ महिना बित्दासमेत भुक्तानी दिएको छैन । समयमै भुक्तानी गर्न नसकेपछि डिलरले ६० दिनको समयसीमालाई बढाएर १ सय ८० दिन पु¥याइसकेको छ ।
त्यसैगरी, सर्वोत्तम सिमेन्टले पनि आफ्नो डिलरलाई सोही प्रकृतिको समयसीमा भित्र भुक्तानी गर्ने गरी एक ट्रक सिमेन्ट उपलब्ध गराएको थियो । तर, भदौ महिना सकिदासम्म पनि भुक्तानी गरेको छैन । सर्वोत्तमले डिलरलाई भुक्तानीका लागि ताकेता गर्दा आफूसँग भएको सामान नबिकेको कारण भुक्तानी गर्न नसकिने बताउने गरेको उद्योगका सञ्चालक विष्णु न्यौपाने बताउँछन् ।
यी दुई उदाहरण मात्र हुन् । यस्ता कयौं क्षेत्रका उत्पादन विक्री गर्दै डिलरमा लैजाने तर, डिलरले भुक्तानी नगर्ने प्रबृत्ति बढ्दै गएको छ । बजारमा अत्यधिक तरलता (लगानीयोग्य रकम) अभाव भएको बहानामा उद्योगीलाई डिलरले गर्नु पर्ने भुक्तानी रोकिन थालेको छ । यद्यपी बैंक तथा वित्तीय संस्थाले तरलता अभाव नभएको बताईरहेका छन् ।
तरलता अभावका कारण उद्योगले निरन्तर रुपमा उत्पादन गरिरहने तर, उत्पादित सामान नबिक्ने समस्या बल्झदै छ । उत्पादित सामग्री बिक्री नहुने वित्तिकै उधारोको सीमा बढ्दै जानु स्वभाविक भएको अर्थशास्त्री पोषराज पाण्डे बताउँछन् । ‘जब बजारमा उत्पादित सामग्री बिक्री हुन छाड्छ, त्यसबाट पुस्टि हुन्छ बजारमा अधिक तरलताको समस्या छ’ उनी भन्छन् । अहिले उद्योगले उत्पादन गरिरहने तर, बिक्री नहुने समस्या दिन प्रतिदिन बढ्दै गएको पाण्डेको भनाई छ ।
उद्योगी शशिकान्त अग्रवालका अनुसार पहिला पहिला ६० दिनसम्मको मात्रै उधारो बजारमा हुन्थ्यो । डिलरले ६० दिनसम्म उधारो लैजान्थे र अघिल्लो भुक्तानी गरेपछि पुनःउद्योगबाट सामान लैजाने गरिन्थ्यो । तर, त्यो चक्र अहिले खलबलिएको छ । ‘सुरु सुरुमा ६० दिनबाट ७० पुग्यो, ७० बाट एकैचोटी ९० पुग्यो, ९० बाट १ सय २० हुँदै अहिले एक सय ८० पुगिसकेको छ,’अग्रवालले भने, ‘बजारमा तरलता अभावका कारण यस्तो समस्या आएको हो ।’
चालू आर्थिक वर्षको २ महिना वितिसक्दा पनि सरकारी तवरबाट विकास निर्माणका खासै कार्यक्रम अघि बढ्न सकेका छैनन् । यसले निर्माण सामाग्रीको मागमा कमी आएको छ । त्यसमाथी वर्षाको समय भएकाले अझै व्यक्तिगत निर्माणको काम पनि खासै अघि बढेको छैन । निर्माणको काम नभएपछि निर्माण सामाग्रीको विक्री रोकिँदा त्यसले निर्माण सामग्रीको उधारो बढाउन सहयोग गरिरहेको छ । विकास निर्माणको काम दू्रतगतिमा अघि बढेको भए डिलरबाट सामान पनि बिक्री हुन्थ्यो र भुक्तानी पनि हुन्थ्यो । तर, अहिले दुवै कार्य रोकिएको अग्रवाल बताउँछन् ।
अम्बे ग्रुपका प्रवन्ध निर्देशक हरि न्यौपानेका पनि बजारमा अत्यधिक उधारो बढेको स्वीकार गर्छन । कतिपय कम्पनीको उधारो २ सय दिन भन्दा माथि पुगिसकेको छ । यसरी निरन्तर उधारो बढ्दै गए भोलि रकम नै नउठ्ने सम्भावना हुने उद्योगीहरुको भनाई छ ।
अर्थशान्त्री डा. शङ्कर शर्माकाअ अनुसार यसको चौतर्फी असर परेको छ । एकातिर उद्योगीले नयाँ लगानी थप्दैनन् । रोजगारी कटौती हुन्छ । लामो समयसम्म मन्दी रहिरह्यो भने आर्थिक बृद्धिमा धक्कालाग्ने शर्माले बताए । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई यस्ता हर्कतले समस्या ल्याउने उनको भनाइ छ ।
यो पनि पढ्नुस्
https://www.capitalnepal.com/old/news/43435?fbclid=IwAR33G_QeHo7FZ4yWgkUTbI5sYDrcIT3pFnNO1I3R3jnoZevz9yTR_5ckNhw