इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भण्टाखेती गरेका थिए । करीब १५ हजार रूपैयाँको लागतमा लगाएकाे भण्टा एक्कासी सुकेपछि अहिले उनी चिन्तित छन् ।
घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उनलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।
उनीजस्तै वडा नं ५ का भोलाप्रसाद मेहताले समेत पाँच कठ्ठामा खुर्सानी खेती लगाउनुभएको थियो । करीब ३५ हजार रूपैयाँको लागतमा लगाएको खुर्सानी खेती सुकेपछि उनलाइर् पनि चिन्ताले सताएको छ ।
घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको खेती सुकेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने किसानलाई सताएको छ ।
महङ्गो बीउ, मल र मजदुरसमेत गरेर मेहताद्वयले गरेको खेती सुकेपछि हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै आएका उनीहरूले केही कमाउने भन्ने लोभले गरेको तरकारी खेती लगातार वर्षासँगै आएको बाढीका कारण खेतमा लगाएको बालीसमेत सुकेकाले लगाएको लगानीसमेत नआउने भएको छ ।
गाउँपालिकाका लागि उनीहरू उदाहरणका पात्र मात्र हुन् । उक्त गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताए ।
गाउँपालिका क्षेत्रमा सयाैँ किसानले सहकारीबाट ऋण गरेर गरेको तरकारी खेती सुकेपछि कृषक समस्यामा परेका उनको भनाइ छ । सदरमुकाम इनरुवा, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह गाउँपालिकामा सघनरूपमा बर्खे र मौसमी गरेर जम्मा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ ।
बाढीका कारण सुनसरीमा ५१२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट हुँदा करीब तीन लाख ८४ हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए । रासस