मङ्गलबार, असोज १२ २०७८ ०४:३९ PM

×

मल अभाव र मनसुनकै भरमा किसान, अझै ८५ प्रतिशत रोपाइँ बाँकी, उत्पादन घट्न सक्ने

images

काठमाडौं । आज १६ औँ राष्ट्रिय धान दिवस आज देशभर मनाइँदैछ । आजकै दिन अर्थात असार १५ गतेलाई रोपाइँ जात्रा र दही चिउरा खाने पर्वका रुपमा पनि मनाउने गरिन्छ । खेतमा रोपाइँ गरी हिलाम्य भएको शरीरलाई सितलता र ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहिआएको कृषिविज्ञहरु बताउँछन् । 


असार सुरु भएसँगै किसान धान रोपाइँको चटारोमा व्यस्त छन् । असार १५ मा देशभर मनसुन सक्रिय भइ  रोपाइँ सबैतिर सुरु भइसक्छ । ‘मानो रोपेर, मुरी फलाउने’ महिनाका रुपमा असार र साउनलाई लिइन्छ ।

  
वि.सं २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको छ । ‘कृषि भूमिको संरक्षण गरौं, धान उत्पादन बढाऔं’ भन्ने मूल नारा लिएर १६ औँ धान दिवस मनाइँदैछ । 


कृषि मन्त्रालय र कृषिमा आवद्ध संघसंस्थाले विभिन्न रोपाइँ महोत्सव तथा विशेष कार्यक्रम गरेर मनाउने गर्छन् । राष्ट्रिय अनुसन्धान परिषद् नार्कले धान दिवसका अवसरमा खुमलटारमा विशेष कार्यक्रम गर्दैछ । कृषि विभागले पहिलो पटक उपत्यकाबाहिर बर्दियामा धान दिवस मनाउँदै छ । बर्दियाको धान रोपाइँ महोत्सवमा कृषिमन्त्री चक्रपाणी खनाल सहभागी हुँदै छन् । 


यसवर्ष भने १० दिन मनसुन ढिला सुरु भएकाले रोपाइँ कम हुने सम्भावना छ ।  हालसम्म (असार १४ गतेसम्म) १५ प्रतिशत धान रोपाइँ भएको छ । गतवर्ष यही समयमा २० प्रतिशत रोपाइँ भएको थियो । गतवर्ष सतप्रतिशत धान रोपाइँ भएको थियो । 


मनसुन सक्रिय भएमा साउन अन्त्यसम्म पनि रोपाइँ हुने भएकाले धान रोपाइँमा ठूलो असर नपर्ने कृषि विभाग महानिर्देशक सूर्य पौडेलले बताए । ‘मनसुन अझै सक्रिय हुन बाँकी छ । अहिले नै रोपाइँ कम हुन्छ भन्ने लाग्दैन’ उनले भने, ‘साउन अन्त्यसम्म नै रोपाइँ हुने लक्ष्यअनुसार नै धान रोपाइँ हुन्छ ।’


मन्त्रालयका एक कर्मचारीले ढिला गरी सुरु भएको मनसुन अझैसम्म पनि सक्रिय नभएकाले १० प्रतिशत रोपाइँ कम हुने प्रक्षेपण गरिएको बताए । नेपालमा विभिन्न जातका धान लगाउने गरिन्छ । सरकारले उत्पादन बढाउन चैतेधान उत्पादनमा जोड दिएको छ । 


भौगोलिक अवस्थिति र हावापानी सुहाउँदो धानबाली लगाउने गरिन्छ । खासगरी तराइँमा राधा (राष्ट्रिय धानबाली) १२, राधा १३, राधा १४ जातका धान लगाउने गरिन्छ । मध्य पहाड र पश्चिम क्षेत्रमा राधा ४ जातको धान लगाउने गरिन्छ । 


पहाडी क्षेत्रमा लेकाली—१, लेकाली—२ धान लगाइन्छ भने तराइमा बहुगुणी-१, २ जातको धान रोप्ने गरिन्छ । राष्ट्रिय अनुसन्धान परिषद् (नार्क)ले विभिन्न जातका धानको सिफारीस गर्दै आएको छ । नार्कका अनुसार, अहिले मसिनो जातको रुपमा चैते-५ धान सिफारीस भइसकेको छ ।


नेपालमा झन्डै ३ हजार रैथाने जातका धान छन् । वैज्ञानिक धानको बीउ छन् । असुन्धान र विकास र मसिनो जातको धानमा सिफारीस गर्नुपर्ने आवश्यकता रहेको धान विज्ञ भोलामानसिंह बस्नेतले बताए । 


सिँचाई सुविद्या, मल, बीउ र यान्त्रिकीकरण बिना धान उत्पादन बढ्न नसक्ने उनको भनाइ छ । उनका अनुसार, नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति १३८ केजी चामल उपभोग भइरहेको छ । कृषियोग्य जमिन प्लटिङ हुँदै गएकाले जमिन खुम्चिएको छ ।

 
वर्षेनी खाने मुख र भुँडी थपिँदै गएको र खानेबानीमासमेत आएको परिवर्तनले चामल आयात बढ्दै गएको कृषि सचिव डा.युवकध्वज जीसीको तर्क छ । आयात कम गर्दै उत्पादन बढाउनतर्फ मन्त्रालयले विभिन्न नयाँ तथा धान विशेष कार्यक्रम ल्याएको बताए । उनले उन्नत र मसिनो जातको धान उत्पादनमा जोड दिएको बताए । 
अधिकांश किसान मनसुनकै भरमा छन् । 

 

अहिलेसम्म पनि मनसुन सक्रिय हुन नसक्दा किसान चिन्तित बनेका छन् । अझै ८५ प्रतिशत जमिनमा रोपाइँ हुन बाँकी छ । मनसुनमात्रै नभएर किसानले वर्षेनी खेप्नुपर्ने अर्को समस्या रासायनिक मल पनि हो । जुन यसवर्ष त झनै हाहाकार नै भइरहेको छ । 


समयमै मल नपाउँदा धान रोपाइँमासमेत समस्या परेको किसानको गुनासो छ । मन्त्रालयले समयमै मल खरिद गर्न नसक्दा अहिले किसान मलको समस्या खेपिरहेका छन् । बढ्दो युवाशक्ति पलायनले खेतीयोग्य जमिन बाँझो हुँदै गएको छ ।  


नेपालको कृषिमा प्रमुख खाद्य बाली धान नै हो । कृषिमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत मध्ये २० प्रतिशत योगदान धानबालीकै छ । कुल कृषियोग्य जमिनको ५०.२ प्रतिशत जमिनमा धान खेती गरिन्छ । अर्थात १५ लाख ६२ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।  


४० प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा छ । समयमै वर्षा हुन नसकेमा धान रोपाइँ हुन सक्दैन । जस्का कारण, धान उत्पादनमा गिरावट हुने गरेको छ । समयमै मनसुन र मल अभाव नहुँदा गत वर्ष धान ९ प्रतिशतले वृद्धि भएर ५६ लाख १० हजार मेट्रिकटन पुगेको थियो । 


जुन, उत्पादनका हिसावले अहिलेसम्मकै रेकर्ड तोडेको थियो । विगत ५ वर्षको तथ्यांक हेर्दा धान उत्पादनमा उतारचढाव भएको देखिन्छ । आर्थिक वर्ष २०७०/०७१ मा ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । 


त्यसयता, दुई आवमा धान उत्पादन घटेको छ । आव २०७१/०७२ मा ४७ लाख ८६ हजार र २०७२/०७२ मा ४२ लाख ९४ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसपछि भने धान उत्पादन क्रमशः बढेको छ । आव २०७२/०७३ को तुलनामा आव २०७३/०७४ मा २२ प्रतिशतले बढेर ५२ लाख २९ हजार टन धान उत्पादन भएको सरकारी तथ्यांक छ । त्यस्तै, आव २०७४/०७५ मा ५१ लाख ५२ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । 


मन्त्रालयका अनुसार, नेपालमा अझैपनि ५ लाख मेट्रिकटन धानको अपुग हुन्छ । अपुग चामल भारतबाटै आयात हुँदै आएको छ । स्वदेशी माग बढ्दै गएकाले वर्षेनी भारतबाट चामल आयात बढिरहेको छ । 


गत आव २०७४/०७५ मा झन्डै २३ अर्ब २५ करोडको चामल आयात भएको भन्सार विभागले जनाएको छ ।  चालू आवको ११ महिनामा मात्रै २६ अर्बभन्दा बढिको चामल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।  
 

आइतबार​ १५ असार २०७६ ०९:४४ AM मा प्रकाशित

प्रतिक्रिया