मङ्गलबार, असोज १२ २०७८ ०३:४० PM

×

धूलो दूध आयात प्रतिवन्ध पछि बढ्यो अवैध कारोबार, तस्करी भएर भित्रिने धूलो दूध बिस्कुुट उद्योग र डेरी क्षेत्रमा

images

काठमाडौं । पछिल्लो समय अबैध रुपमा भित्रिएको धूलो दूधले बजार कब्जा गरेको छ । कृषिमन्त्री चक्रपाणी खनालको मौखिक निर्देशनपछि धूलो दूध आयात पूर्ण रुपमा बन्द भए पछि तस्करीमार्फत भित्रिएको धूलो दूध डेरि उद्योग, बिस्कुट उद्योगलगायतमा पुग्ने गरेको हो । 

 


कृषि मन्त्री खनालको गलत निर्णयका कारण तस्करी भएर धूलो दूध नेपाल भित्रिएपछि त्यसको फाइदा तस्करसँग जोडिएका केहि व्यवसायीले लिएका छन् । यद्यपि, मन्त्री खनालले धूलो दूध आयात बन्द गर्नका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई लिखित निर्देशन भने दिएका छैनन् ।

 


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मन्त्रीको मौखिक निर्देशनकै आधारमा धूलो दूध विगत ९ महिनादेखि आयातमा रोक लगाएको छ । विभागका अनुसार मन्त्रीले गत असोजमा दूध आयातका लागि अनुमति पत्र नदिन निर्देशन दिएपछि अहिलेसम्म एउटालाई पनि आयात अनुमति पत्र दिएको छैन ।  

 


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार स्वदेशी पाउडर उद्योगलाई संरक्षण गर्न मन्त्री खनालले विदेशबाट आउने धूलो दूधलाई बन्द गरेका थिए । ‘मन्त्रीज्यूको मौखिक निर्देशन पछि हामीले असोजदेखि यता अहिलेसम्म एक जनालाई पनि आयात अनुमति पत्र दिएका छैनौ,’ विभाग स्रोतले भन्यो, ‘बिस्कुट उद्योग, आइसक्रिम उद्योग तथा डेरी उद्योग र आयातकर्ताले अनुमति मागेका थिए । तर, हामीले दिएनौ ।’ 

 


विभागलाई मौखिक निर्देशन दिँदै तत्काल धूलो दूध आयात रोक्न मन्त्री खनालले भनेका थिए । त्यसयता, नेपालमा औपचारिक च्यानलबाट धूलो दूध नभित्रिएको भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालले क्यापिटल नेपाललाई बताए ।   

 


मन्त्री खनालले आयात रोक्दा बजारमा दुई महिनालाई पुग्ने स्टक नेपालमा थियो । तर, अहिले आयात रोकेको ९ महिनाभन्दा बढी भइसकेको छ । तर, पनि बजारमा अभाव छैन ।  ७ महिनादेखि भारतबाट धूलो दूध अवैध रुपमा नेपाल भित्रिने गरेको र सोही अवैध रुपमा आयात धुलो दुध डेरी उद्योग, बिस्कुट उद्योग तथा आइसक्रिम उद्योगले प्रयोग गर्ने गरेको व्यवसायीहरु नै बताउँछन् । 

 


अहिले बजारमा स्वदेशी धुलो दुध पनि सहजै पाइएको छैन, भारतबाट कानुनी रुपमा आयात भएको छैन तर अवैध रुपमा जति पनि पाइन्छ, डेरि उद्योगका एक सञ्चालकले जानकारी दिए । उद्योग बन्द गर्नुभन्दा गैरकानुनी रुपमै भित्रिएको दुध भएपनि प्रयोग गरि डेरि प्रडक्ट उत्पादन गरिरहेको उनले बताए ।  

 


कृषि मन्त्री खनालले आयात प्रतिबन्ध पछि पनि तस्करी भएर नेपालमा धूलो दूध भित्रिने गरेको स्वीकार गरे । ‘अहिले छिटफुट रुपमा धूलो दूध तस्करी भएर आइरकेको छ भन्ने जानकारीमा आएको छ,’ मन्त्री खनालले क्यापिटल नेपालसँग भने, ‘त्यसलाई रोक्न मैले अध्ययन गरिरहेको छु ।’
मन्त्री खनालले किसानको संरक्षण र पाउडर उद्योग बचाउन आयात रोकेको बताए पनि अहिले बजारमा अबैध तरिकाले भित्रिने दूधले बजार कब्जा गरेको उद्योगीहरु स्वीकार गर्छन । 

 


माग र आपूर्तिमा सन्तुलन नमिले पछि बजारमा तस्करी भएर धूलो दूध नेपाल भित्रिएको हो । यसअघिसम्म माग र आपूर्तिमा सन्तुलन कायम हुँदा धूलो दूध तस्करी भएर आएको थिएन्,’ एक आयातकर्ताले भने, ‘अहिले धूलो दूधको माग बढी, उत्पादन कम र आयात ठप्प हुँदा तस्करीले प्रश्रय पाएको हो ।’

 


धूलो दूध स् माग ३ हजार, उत्पादन २ हजार टन, आयात प्रतिबन्धको फाइदा कसले लिँदैछ 
 


‘धूलो दूध आयात रोक्ने काम हचुवाको निर्णय भएको, राज्यले अर्बौ रुपैयाँ राजस्व गुमाएको र चोरी तस्करीको कब्जामा धूलो दूध पुगेको हो,’ एक आयातकर्ताले भने, ‘सरकारले चोरीलाई प्रश्रय दिन बैधानिक तवरबाट हुने आयातलाई रोकेको र राजस्व गुमाएको हो ।’ 

 


मन्त्री खनालले आयात बन्दा गर्दा नेपालमा १२ हजार (२५ किलो) बोरा मात्रै धूलो दूध स्टकमा थियो । त्यो भनेको बिस्कुट उद्योग, आइसक्रिम तथा डेरीलाई दुई महिनाका लागि मात्रै पुग्ने धूलो दूध हो । आयात बन्द भएको दुई महिनापछि कुनै पनि उद्योग बन्द भएका छैनन् । र भारतबाट धूलो दूध पनि आएको छैन । स्वदेशमा भएका पाउडर प्लान्टले पनि बिस्कुट, आइसक्रिम तथा डेरीलाई धूलो दूध बेच्न नसकेको उद्योगीहरु स्वीकार गर्छन । 

 


सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आफैलाई धूलो चाहिने भएकाले बेच्न नसक्ने जवाफ फर्काइसकेको छ । चितवन मिल्कले जसले कच्चा दूध दिन्छन्, उसैलाई कन्र्भसन गरेर धूलो दूध दिने हो । त्यसैगरी सुजलले पनि आपूmले प्रयोग गरेर बाँकी रहेको दूध बेच्ने हो । 
आफूले प्रयोग गरेर बाँकी रहेको दूध बेच्दा ७ महिनासम्म देशको मागलाई सम्बोधन गर्न नसक्ने उद्योगीहरु बताउँछन् । 

 


अहिले भारतबाट चोरी निकासी भएर आएका धूलो दूधको प्याकेट किनेर उद्योगीले चलाइरहेको छ । सरकारले आयत प्रतिबन्ध गरेकै धूलो दूध नेपालका केही सुपरमार्केटमा विक्री भइसकेको उद्योगीहरु बताउँछन् । 

 


चोरी तस्करीलाई सरकारकै साथ

 


सरकारले बैधानिक बाटोबाट आइरहेको धूलो दूधलाई रोकेर चोरी तस्करीलाई प्रश्रय गरेको व्यवसायीले आरोप लगाएका छन् । सरकारको गलत निर्णयका कारण सरकार आफैले राजस्व समेत गुमाएको उनीहरुको भनाइ छ । एक आयातकर्ताका अनुसार तस्करीले अहिले दैनिक एक सय बोरासम्म तस्करी गरेर नेपालमा धूलो दूध भित्र्याइरहेका छन् । धूलो दूध कन्र्भसन नगर्नेहरुले तस्करी भएर भित्रिएका धूलो दूध प्रयोग गरिरहेको ती आयातकर्ताको भनाइ छ । 


तस्करी भएर भित्रिएको धूलो दूध डेरी क्षेत्र र बिस्कुट उद्योगमा
 

 

तस्करी भएर नेपाल भित्रिने धूलो दूध स्वदेशी डेरी उद्योग, आइसक्रिम तथा बिस्कटु उद्योगमा खपत हुने गरेको खुलेको छ । कृषि मन्त्री खनालले आयात बन्दा गर्दा दुई महिनालाई पुग्ने धूलो दूध नेपालमा थियो । त्यस पछि स्वदेशी उद्योगलाई धूलो दूध अभाव भएपछि तस्करीमार्फत भित्रिएको दूध प्रयोग हुन थालेको नाम नबताउने सर्तमा एक उद्योगीले भने । 
डेरी, आइक्रिम तथा बिस्कुट उद्योगको मुख्य कच्चा पदार्थ भनेको धूलो दूध हो । मुख्य कच्चा पदार्थ नै रोकिए पछि कि उद्योग बन्द गर्नुपर्यो । ‘होइन भने जे जसरी भित्रिएको भए पनि धूलो दूध प्रयोग नगरी सुखै पाइएन,’ अर्का एक उद्योगीले भने । 

शुक्रबार​ १३ असार २०७६ ०६:०५ PM मा प्रकाशित

प्रतिक्रिया