मङ्गलबार, असोज १२ २०७८ ०३:४७ PM

×

भारतीय तरकारी–फलफूलका ४० ट्रक भन्सारमै

images

बाँके । नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएको नेपालगञ्जका व्यवसायीले बताएका छन् ।    
    

भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रक सीमामै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए । उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्रअनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालवाहक ट्रक रोकिएको बताए ।    
    

उनले भने, “विषादी परीक्षण नगरेका ट्रकलाई नेपाल प्रवेशमा रोक लगाउनू भन्ने परिपत्र आएको छ । परिपत्र आएलगत्तै हामीले ती ट्रकको जाँच पास दिएका छैनौँ ।” उनले विषादी परीक्षणका लागि तरकारी तथा फलफूलको नमूना सङ्कलन गरेर नेपालगञ्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ कार्यालय बाँकेमा पठाइएको जानकारी दिए ।    
    

प्रमुख निरौलाले भने, “विषादी छ÷छैन भन्नेबारे परीक्षणपछि मात्रै थाहा हुने र सोही आधारमा ट्रकलाई जाँच पास दिन्छौँ । विषादीयुक्त पाइएमा ट्रक फिर्ता पठाइदिन्छौँ ।” विगतमा तरकारी र फलफूल बोकेका गाडी विनारोकटोक नेपाल भित्रन्थे । उनले भने, “विगतमा परीक्षण नभएर भित्रिन्थ्यो, अब परीक्षण गराएर मात्रै जाँच पास दिन्छौँ ।”    
    

विषादीयुक्त तरकारी खान बाध्य उपभोक्ताका लागि विभागले गरेको निर्णय स्वागतयोग्य रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गरेको निर्णयले सधैँ निरन्तरता पाउने विश्वास व्यक्त गरे ।    
    

“आज निर्णय गर्ने भोलि कार्यान्वयन नहुने अवस्था नहोस् । यस्ता निर्णयले आम नागरिकलाई आत्मनिर्भरताको बाटोतर्फ प्रेरित गर्छन्”, उनले भने, “स्वदेशमै उत्पादन बढाउनुपर्छ भन्ने सन्देश दिन्छ ।”    
    

दुई दिन मात्रै तरकारी र फलफूल बोकेका ट्रक नेपाल नभित्रिएपछि नेपालगञ्जमा तरकारीको भाउ बढ्न थालेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा भाउ बढ्न थालेको हो । दैनिक ८० टनभन्दा बढी तरकारी बिक्री हुने नेपालगञ्जको रानीतलाउमा धेरैजसो तरकारी भारतबाटै आयात हुन्छ । आयात रोकिएपछि व्यवसायीहरुले भाउ बढाउन थालेका छन् ।    
    

नेपालमा प्रतिबन्धित क्लोरडाइन, डिडिटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, मोनोक्रोटोफस, लिण्डेन, बिएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, इण्डोसल्फेन जस्ता विषादी अवैध रुपमा बिक्री वितरण हुने गरेका र तरकारी खेतीमा प्रयोग हुने अधिकांश विषादी भारत र अन्य मुलुकबाट आयात हुने गर्छन् ।    
    

रोग, किरा तथा चराचुरुङ्गीबाट तरकारी बालीलाई जोगाउन विषादी प्रयोग गर्नुपर्ने भए पनि कतिपय तरकारी उत्पादकले थोरै समयमा धेरै नाफा कमाउन र उत्पादन वृद्धिका लागि हानिकारक विषादीसमेत प्रयोग गर्ने गरेका छन् । विषादी हालेको कम्तीमा तीन सातापछि तरकारी, फल वा खाद्यान्न उपभोग गर्दा विषादीका कारण मानव स्वास्थ्यमा हुन सक्ने जोखिम कम गर्न सकिन्छ ।    
    

विषादी प्रयोग गरेका बालीनाली कति दिनसम्म टिपेर बिक्री वितरण र उपभोग गर्ने भन्नेबारे किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यान्न प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ । विषादीयुक्त तरकारी र खाद्यान्न प्रयोगले श्वासप्रश्वास, छाला, नसाका साथै स्मरणशक्ति, प्रजनन क्षमतामा असर पर्ने बताइएको छ ।

 

लामो समयसम्म विषादीयुक्त तरकारी तथा खाद्यान्न प्रयोगले रगत तथा छालाको क्यान्सर हुने जोखिम उच्च हुने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा राजन पाण्डेले बताए ।  रासस

आइतबार​ ८ असार २०७६ ०६:१९ PM मा प्रकाशित

प्रतिक्रिया