काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डको एरोथाइ कम्पनी पनि आउन तयार भएको छ ।
यसअघि कोभिडका कारण आउन नसक्ने र अर्को विकल्पमा लाग्न पत्र पठाएको थाइले केही दिनअघि मात्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आफू आउन तयार रहेको पत्र पठाएका हो । एरोथाइले सो विमानस्थलमा सूचना तथा विद्युतीय सामग्री उपकरणलगायत संरचनाको जिम्मेवारी पाएको थियो ।
थाइल्याण्डमा कोभिडको संक्रमणकम कम हुँदै गएको र उडानहरु पनि सहज भएकाले क्यालिब्रेसन फ्लाइटका लागि आउन लागेको पत्र केही दिनअघि मात्र आएको महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । एक साताअघि बसेको बोर्ड बैठकले क्यालिब्रेसन फ्लाइटका लागि नेपाल आउने वा नआउने अन्तिम निर्णयका लागि पत्रचार गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यालिब्रेसन फ्लाइटको निर्णय गर्ने जिम्मा प्राधिकरणलाई नै दिएपछि बोर्डको बैठक बसेको थियो । प्राधिकरणले एरोथाइ नआउने भएपछि भारतको ‘इन्डियन एयरपोर्ट अथोरिटी’ अनुरोध सहितको पत्र पठाएको थियो ।
इन्डियन एयरपोर्ट अथोरिटीले नेपाल आउन तयार रहेको पत्र पठाएपछि निर्णयका लागि बोर्डमा प्रस्ताव लगेको थियो । तर, बोर्डले यसअघि नै निर्णय गरेको थाइल्याण्डको कम्पनी एरोथाइसँग अन्तिम पटक बुझ्नका लागि निर्देशन दिएको थियो ।
एरोथाइले नेपाल आउन तयार रहेको पत्र पठाएसँगै प्राधिकरणले बोर्डलाई जानकारी गराइसकेको छ । बोर्डले भारतीय कम्पनी लिने वा थाइल्याण्डको कम्पनीलाई दिने भन्ने निर्णय गर्ने अधिकार प्राधिकरणलाई नै दिएको छ ।
‘बोर्डले प्राधिकरणलाई नै निर्णय गर्ने अधिकार दिएको छ, महानिर्देशक क्षेत्रीले भने, त्यसका लागि इन्जिनियर र प्राविधिकहरु छलफलमा जुट्नु भएको छ,सायद आज वा भोलिनै यस विषयमा निर्णय हुनसक्छ’ ।
विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न विमानस्थल परिसरमा जडित उपकरण ठीक भए–नभएको र ती उपकरणले सही काम गरे–नगरेका बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गरिने नै क्यालिब्रेसन फ्लाइट भनिन्छ ।
क्यालिब्रेसन फ्लाइटपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमअनुसार एआईपी एरोनटिकल पब्लिकेसनमा विमानस्थल सम्बन्धित विवरण प्रकाशन गरेर मात्रै परीक्षण उडान गर्न पाइन्छ । क्यालिब्रेसन फ्लाइटका लागि करिब ३ महिनाको समय लाग्नेछ ।
विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । विमानस्थल सन् २०२२ को जनवरीसम्म सञ्चालनमा ल्याउने सरकारी योजना छ ।