×

गौतमबुद्ध विमानस्थलबाट जजिराको दैनिक उडान, बीज एयरले कात्तिक १३ बाट 

images

काठमाडौं । कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ ।

गौतमबुद्ध विमानस्थलबाट कुवेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजिराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजिराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। एयरवेजले अहिले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ । 

यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु सङ्ख्या बढ्ने प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको एयरवेजले जनाएको छ । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलंका र युरोपमा उडान सञ्चालन गर्दै आएको छ । 

जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

बीज एयरले उडान गर्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बीज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख) देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए । 

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ । जजीराले नियमित उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको छ । योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुगेका छन् । जजिराले सुरुदेखि उडान गरिरहेको छ भने बीजले पनि छिट्टै उडान गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ हाल तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । कोभिड–१९ महामारीपछि मुलुकको अन्तराष्ट्रिय उडान विस्तारै लयमा फर्कदै गरेको प्राधिकरणले जनाएको छ । अहिले अन्तर्राष्ट्रियमा ७० प्रतिशत बढी अकुपेन्सी रहेको प्रवक्ता निरौलाले बताए। 

कोभिडपूर्व ३० भन्दा बढी एयरलाइन्सले काठमाडौं विमानस्थल भएर उडान गर्दै आएका थिए ।

मङ्गलबार १४ भदौ २०७९ ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया