काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बस तथा ठूला गाडीका लागि प्रतियुनिट १ रुपैयाँ २० पैसा र कारका लागि ७० पैसा तिरे पुग्ने छ । विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने र इन्धनमार्फत चल्ने सवारी साधनलाई विस्थापित गर्ने योजनाका साथ विद्युत प्राधिकरणले देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको हो ।
सर्वसाधारणसम्मलाई चार्जिङ स्टेसनको पहुँच पुर्याउन भन्दै देशभर ५१ वटा स्टेसनहरु निर्माण गरिरहेको छ । सञ्चालनमा रहेको चार्जिङ स्टेसनमा २६ वटा (जीबीटी) ठूला बस, माइक्रो, पिकअप तथा कार आदिका लागि) चार्जर र २५ वटा सीसीएस(साना ठूला कारहरु) चार्जर रहेको छ । हाल नेपालमा उपलब्ध सवारी साधानहरुमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने छ ।
चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ बीस प्रतिकिलोमिटर खर्च लाग्ने छ । चार्जिङ स्टेसनको चार्जका लागि नेशनल सर्भिस प्रोभाइडर(एनएसपी) प्रणालीको विकास गरि त्यहीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् ।
चार्जको रकम भुक्तानीको लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिनेछ । प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डिसी प्लस ६० किलोवटा डिसी प्लस २२ किलोवाट एसी रहेको छ । यद्यपी १२० किलोवाट डिसीसम्म सिङ्गल डिसि गनले गाडीहरु चार्ज गर्न सकिने जनाएको छ ।
विद्युत खपत प्रर्वद्धन गर्न विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख सहर तथा राजमार्गहरुका द्रुत सवारी चार्जिङ स्टेसनहरु प्राधिकरणले निर्माण गरिरहेको छ ।
यसैबीच प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मंगलबारदेखि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । चार्जिङ स्टेसनको उर्जा,जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
चार्जिङ्ग स्टेशन सञ्चालकले विद्युतीय सवारी साधानलाई चार्जिङ्ग सेवा दिएबापत महशुल दरमा प्रति किलोवाट–घण्टा(युनिट) मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने छन् । चार्जिङ्ग स्टेशन निर्माणका लागि प्राधिकरणले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बीच छुट्टाछुट्टै सम्झौता गरिसकेको छ ।