काठमाडौं । पोखरामा रहेको पाँचतारे फूलबारी रिसोर्टको लिलामी प्रक्रिया अहिले अदालतमा पुगेको छ । साउन ५ गते उच्च अदालत पाटनले अन्तरकालिन आदेश दिएपछि रिसोर्टको लिलामको प्रक्रिया रोकिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले अन्तरिम आदेशका लागि १५ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । सो दिनसम्म लिलामी प्रक्रिया अघि नबढाउन उच्च अदालतले अन्तरकालीन आदेश दिएको छ ।
दुबै पक्षलाई छलफलका लागि बोलाएकाले आइतबार अन्तरकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने फैसला उच्च अदालतले गर्ने छ । यता जिल्ला अदालत काठमाडौंका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अदालतले लिखत प्रमाण झिकाउने आदेश दिएको छ । सोको विरुद्धमा फूलबारी रिसोर्टका सञ्चालक पीयुषबहादुर अमात्य उच्च अदालतमा गएका थिए ।
फूलबारी रिसोर्टले लिएको ऋण नतिरेपछि नेपाल बैंकले त्यसका सञ्चालक अमात्य परिवार र द फूलबारी लिमिटेडको नाममा भएको रहेको जग्गा बेच्न लिलामी प्रक्रिया अघि बढाएको थियो । तर, अमात्यले लिलामीको अन्तिम दिन उच्च अदालत पाटनबाट अन्तरिम आदेश पाएपछि लिलामी रोकिएको हो ।
अन्तिम दिन साउन ५ गते सम्पत्ति खरिदका लागि बोलपत्र परेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए । अदालतले फैसला गरेपछि मात्र सोे बोलपत्र खोल्ने अधिकारीले बताए ।
उनका अनुसार अमात्य २४ वर्षदेखि कालोसूचीमा पर्दै आएका छन् । जग्गा बढी मूल्यमा बेच्नका लागि अहिले अमात्यले विभिन्न उपायहरु अपनाइरहेको भनाई सीईओ अधिकारीको छ ।
नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा ऋण लगानी गरेका थिए । नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड, सञ्चय कोषले ३१ करोड रुपैयाँ लगानी गरेका थिए । हाल सो ऋणको साँवा र ब्याज गरी साढे ३ अर्ब रुपैयाँ बढी भइसकेको छ ।
नेपाल बैंकले असार ३ गते फूलबारी रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमती गंगा अमात्यले लिखतनामा गरेको धितो लिलामीको सूचना प्रकाशित गरेको थियो ।
नेपाल बैंकले पोखरा महानगरपालिका १५ मा रहेको होटल तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने लागेको छ ।
नेपाल भ्रमण वर्ष १९९८ लाई लक्षित गरी अमात्य ग्रुपको ड्रिम प्रोजेक्ट सञ्चालनमा आएको हो । माओवादीको सशस्त्र द्वन्द्व कालमा आएको रिसोर्टले राम्रो व्यापार गर्न सकेन । ऋण नतिरेपछि बैंकले २०५८ मा नै रिसोर्टलाई कालोसूचीमा राखेको थियो । सँगै सञ्चालनमा आएको अर्को पाँचतारे होटल ह्यात अहिले राम्रो बिजनेस गरिरहेको छ । उसले बैंकहरुको ऋण चुक्ता गरी लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आएको छ ।
फूलबारी सञ्चालन गर्ने ऋणको पुनसंरचना र पुर्ननालिकीकरण
नेपाल बैंकको व्यवस्थापन विदेशीले सम्हालेका बेला पनि होटल सञ्चालन गरेर ऋण असुलीका लागि गरेको प्रयासलाई अमात्यले नमानेपछि रोकिएको थियो । २०७१ सालमा होटललाई भारतको क्लार्क ग्रुपसँगको साझेदारीमा चलाउन सम्झौता भएको थियो । अमात्यका कारण बैंकहरुले थप लगानी नगर्ने भएपछि फूलबारी सञ्चालनमा आएन ।
त्यसपछि २०७६ सालमा रिसोर्ट सञ्चालक अमात्यले ग्लोबल चेन होटल मेरियटसँग व्यवस्थापन सम्झौता गरेका थिए । सम्झौताअनुसार पनि रिसोर्ट नचलेपछि लिलामी गर्ने निर्णयमा बैंक पुगेको हो ।
रिसोर्ट सञ्चालन गर्ने र ऋण तिर्ने भनेपछि २०७६ मा ऋणको पुनसंरचना र पुर्ननालिकीकरण सम्झौता भएको थियो । २०७६ कात्तिकमा होटललाई पुनः सञ्चालन गर्नका लागि ऋण पुर्नसंरचना हुँदा साँवा १ अर्ब ३१ करोड र ब्याज २ अर्ब ३६ करोड गरी तिर्नुपर्ने ऋण ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो । यस्तै होटलले सरकारलाई ३ अर्ब रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी छ ।
होटल अहिले बन्द छ । होटलका संरचना खण्डहर बन्न लागेका छन् । होटललाई पहिलाको अवस्थामा ल्याउनका लागि ‘रिनोभेट’ गर्न करोडौं रुपैयाँ थप लगानी आवश्यक हुन्छ ।