सोमबार, माघ ३ २०७८ १०:४३ AM

×
images

देशभर वर्षा र हिमपात, हवाई उडान प्रभावित, जनजीवन कष्टकर (फोटोफिचर)

काठमाडौं ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने बढ्ने र त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर परेको छ । 

दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले बताएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राति समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

कहाँ–कहाँ हिउँ पर्यो ?

भोजपुरको सुन्तलेस्थित बाघखोरमा हिउँ परेको छ । माथिल्लो भेगमा एकदेखि डेढ फुटसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ । यस्तै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा पनि भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनाएको छ । 

डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा पनि भारी हिउँ परेको छ । हिमपातपछिको चिसोले स्थानीय जनजीवन कष्टकर बनेको छ । 

मनाङमा पनि  ७२ घन्टेदेखि भारी हिमपात भएको छ ।  जसका कारण सवारी आवगमन ठप्प भएको छ । त्यहाँको तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झन्झन् कष्टकर हुँदै गएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा समेत बुधबार बिहान हिउँ परेको छ । चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ । 

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरिमा रातभरको अविरल वर्षासँगै डाँडामा हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । 

हिमाली जिल्ला हुम्लामा पनि बाक्लो हिउँ परेको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ । 

 


 

सबै तस्बिर: रासस । 

बुधबार १४ पुस २०७८ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया