×

मौद्रिक नीतिमा राष्ट्र बैंकको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैनः चेम्बर

images

काठमाडाैं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । 

सङ्कुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको ठहर छ । चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुने चेम्बरको अपेक्षा थियो । 

राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्दैन ।” शून्य दशमलव ४ प्रतिशत घटाइएको स्प्रेडदरले आगामी दिनमा ब्याजदर बढ्न नदिए पनि हाल कायम उच्च ब्याजदरलाई घटाउने सम्भावना भने न्यून रहेको चेम्बरको ठहर छ । 

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशत सम्म मात्रै कायम गर्न पनि चेम्बरले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ । मौद्रिक नीति सम्वन्धमा राष्ट्र बैंकको समीक्षाले औद्योगिक क्षेत्र थप प्रवाहित हुने चेम्बरले जनाएको छ । 

राष्ट्र बैंकको त्रैमासिक समीक्षा सन्र्दभमा चेम्बर अफ कमर्सले ७ बुँदे ध्यानाकर्षण गराएको हो । चेम्बरले हाल कायम ८ दशमलव ५ प्रतिशतको बैंक दरलाई ५ प्रतिशतमा झार्न पनि केन्द्रीय बैंकसमक्ष आग्रह गरेको छ ।

सोमबार १२ मंसिर २०७९ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया