बिहीबार, मंसिर १६ २०७८ ०९:३१ PM

×

नेपाली श्रमिकको हकहितका विषयमा मन्त्री श्रेष्ठको चासो

images

काठमाडौं । आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच बुधबर भेटवार्ता भएको छ ।

भेटमा मन्त्री श्रेष्ठले यूएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा यूएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरे। सो क्रममा नेपाल– यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगायत विषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
 
आबुधाबीमा अन्य कूटनीतिक भेटघाट
आबुधाबी डायलगको छैटौं मन्त्रिस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आबुधावीमा अन्य कूटनीतिक भेटवार्ता गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।

साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने, नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।

यस्तै मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण तथा रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाालले जानकारी दिए । रासस

बिहीबार ११ कात्तिक २०७८ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया