बुधबार, कात्तिक ३ २०७८ ०९:१३ AM

×

खिम्तीको स्वामित्व हस्तान्तरणः संयुक्त कम्पनी खोल्न प्राधिकरण र हिमाल पावरबीच छलफल 

images

काठमाडौं । नर्वेको लगानीमा बनेको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व हस्तान्तरणका लागि कम्पनी गठनको प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण र खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावर लिमिटेडबीच संयुक्त कम्पनी बनाउन छलफल सुरु भएको हो ।

प्राधिकरण र हिमालबीच संयुक्त कम्पनीका साथै स्वामित्व हस्तान्तरण र विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को विषयमा छलफल हुने भएको छ । स्वामित्व हस्तान्तरणका लागि ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

विद्युत प्राधिकरण र हिमाल पावरबीच भएको सम्झौता २०७७ असारदेखि सकिएको छ । सम्झौता अनुसार खिम्ती आयोजनाको आधा स्वामित्व हस्तान्तरण हुनुपर्ने र डलरमा भएको पीपीए खारेज हुनुपर्ने थियो । सम्झौता सकिए पनि कोभिड महामारीको कारण छलफल हुन सकेको थिएन् । 

विद्युत प्राधिकरणले बिजुली खरिदवापत हिमाल पावरलाई प्रतियुनिट २ रुपैयाँका दरले अन्तरकालिन भुक्तानी गरिरहेको छ । प्राधिकरणको ५० प्रतिशत स्वामित्व आएपछि २ अर्ब ४९ करोड ६८ लाख १६ हजार रुपैयाँ बराबरको हिस्सा प्राप्त हुन्छ । जब कि हिमाल पावरले ४ अर्ब ९९ करोड ३६ लाख ३२ हजार २०२ बराबरको बिजुली बिक्री गरेको छ । 

प्राधिकरण र खिम्तीको प्रवद्र्धकसँग २०५१ मङ्सिर २९ गते विद्युत खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार बिजुली उत्पादन भएको २० वर्षपछि ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने उल्लेख छ । आयोजनाले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यस आधारमा २०७७ असारमा २० वर्ष पूरा भएको छ ।

आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण भएको हो । तत्कालीन समयमा आयोजना १४ करोड २० लाख अमेरिकी डलरमा आयोजना निर्माण भएको थियो । प्रतियूनिट २१ रुपैयाँमा प्राधिकरणले खरिद गरिरहेको थियो ।

खिम्तीले झण्डै ५ अर्ब बराबरको कमाइ गर्दा प्राधिकरणले अढाई अर्ब रुपैयाँ बराबरको नोक्सानी बेहोरिरहेको थियो । प्राधिकरणले सो आयोजनाको रोयल्टीसमेत आफै तिरिरहेको थियो । 
 

मङ्गलबार १२ असोज २०७८ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया