बुधबार, कात्तिक ३ २०७८ ०९:०३ AM

×

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्दै

images

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडान गर्ने भएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित संचालन गर्न लागेको जानकारी दिए ।

“बिगतका वर्षहरुमा जस्तै पोखरा विमानस्थलमा नै जहाज राखेर तारा एयरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौं,” उनले भने। कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँचवटा सम्म उडान भर्दै आएको थियो ।

जोमसोममा  दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले बिहान १२ बजेभित्र नै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एयरले मात्र पोखरा, नेपालगन्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै  आएको छ ।

तारा एयरसँग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर वायुयान रहेको छ । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।

मङ्गलबार १२ असोज २०७८ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया