बुधबार, साउन १३ २०७८ १०:४१ AM

×

शिक्षक पेशा छाडेर हाते कागज उद्योगमा लागेका साउदकाे लोभलाग्दो सफलता

images

काठमाडौं । २०४१ सालमा शिक्षण पेसाबाट राजीनामा दिएर उद्यमी बनेका थिए अछामका धर्म सिंह साउद ।  त्यो बेला नेपाली कागज अर्थात हाते कागजको प्रयोग धेरै हुन्थ्यो । सामान्य जीवनयापन र स्थानीयस्तरमा व्यापार गर्ने उद्देश्यले उनले जिल्ला घरेलु कार्यालय अछाममा ‘लक्ष्मी हाते कागज उद्योग’ दर्ता गराएका हुन् । 

हाल उद्योग सञ्चालक नरेन्द्रबहादुर साउद धर्म सिंहका छोरा हुन् । हाल उद्योगको शाखा कार्यालय भक्तपुरको नयाँ थिमीमा छ । शाखा कार्यालयको विस्तार भने नरेन्द्रले २०७० सालमा गरेका हुन् । उनका बुबाले अछाममा रहेको उद्योग सञ्चालन गर्दै छन्, नरेन्द्रले भक्तपुरमा रहेको शाखा उद्योग सञ्चालन गर्दै आएका छन् । 

२०४१ सालमा कृषि विकास बैंकबाट ५० हजार रुपैयाँ ऋण लिएर आफ्नै लगानीबाट उक्त उद्योग सञ्चालन भएको हो । तत्कालीन समयमा नेपालका हरेक सरकारी कामकाजदेखि अन्य ठाउँमा हाते कागज अर्थात नेपाली कागजको प्रयोग हुन्थ्यो । 

नरेन्द्रका अनुसार नेपालका धेरै ठउँमा कागज बनाउने गरिन्थ्यो, त्यसरी बनाएका कागज सीमित अर्थात आफ्नो आवश्यकता पूरा गर्न मात्रै प्रयोग गरिन्थ्यो । तर, उद्योगका रूपमा स्थापना भएको लक्ष्मी हाते कागज उद्योग सुदूरपश्चिम कै पहिलो उद्योग हो ।

परम्परात प्रविधिबाट २ मिटर लम्बाइ र १ मिटर चौडाइसम्मको नेपाली कागज नरेन्द्रका बुबाले बनाउने गथ्र्ये । अहिले भने, ‘अर्डरअनुसार कागजको आकार बनाइन्छ ।’ कमर्स पढेका नरेन्द्रले नेपाली कागजको अन्तर्राष्ट्रिय बजारको सम्भावना रहेको थाहा पाएर पूर्णरूपमा उद्योगमा लागेका हुन् । 

अन्तर्राष्ट्रिय बजारमा विशेषगरी उपहारजन्य सामानका रूपमा कागजको प्रयोग हुने नरेन्द्र बताउँछन् । त्यस्ता सामान बनाउनका लागि कागजमा रङलगाए पछि विभिन्न आकार बनाउनुपर्छ अनि मात्रै सामग्री तयार गर्न सकिन्छ ।

सजावटका सामान, गरगहना, उपहारका सामान, डायरी, खाम आदि बनाउन मिल्छ । उनी भन्छन्, ‘कागजलाइ रङग्याइ  स्क्रिन प्रिन्ट गरी  सामान तयार गर्दा कपडा हो कि कागज छुट्याउन सकिँदैन । अहिले पनि मालपोत कार्यालय, बैंकलगायत ठाउँमा नेपाली कागजको प्रयोग हुन्छ ।’

नरेन्द्र नेपाल हाते कागज उद्योग संघका अध्यक्षसमेत हुन् । बुबाले सुरु गर्दा उद्योगमा ४ देखि आवश्यकताअनुसार १३/१४ जनासम्म मान्छे राखेर काम गरेको नरेन्द्रको भनाइ छ ।

हाल उनको उद्योगमा २५ देखि ३० जनाले रोजगारी पाइरहेका छन् । तर, कोरोनाको कारण अहिले भने १५ जना जतिले मात्रै काम गरिरहेका छन् । उनले भने, ‘अहिले हाम्रो उद्योगमा काम नभएको कारण कामदारको संख्या घटेको हो ।’

उक्त उद्योगमा काम गर्ने कामदारले मासिक रूपमा पैसा पाउँदैनन्, आफूले काम गर्न सकेजति पैसा कमाउन सकिने साउद बताउँछन् । २ सयवटा कागजको एउटा मुठ्ठा बनाइन्छ जसलाई कोरी भन्ने गरिन्छ । एक कोरी तयार गरेपछि कामदारले ६ सय रुपैयाँ प्राप्त गर्छन् । 

कागज बनाउनका लागि लोक्ता, अर्गेली, बाबियोको आवश्यकता पर्छ । सबैभन्दा राम्रो लोक्ताबाट बनाएको कागज हो । पछिल्लो समय  बाबियोको प्रयोग बढेको कारण नेपाली कागजको गुणस्तर घटेको साउद बताउँछन् । 

उनका अनुसार, लोक्ता उच्च पहाडी क्षेत्रमा मात्रै पाइन्छ भने अर्गेली धेरै पाइन्छ। ०६५ सालपछि बाबियोको प्रयोगले धेरै स्थान ओगटेको छ । जसअनुसार मूल्य पनि फरक पर्छ । कच्चा पदार्थ अर्थात लोक्ताको मूल्य प्रतिकेजी २ सय, अर्गेलीको १ सय २० देखि ४० र बाबियोबाट बनाएको कागजको मूल्य जम्मा २५ देखि ३० रुपैयाँसम्म पर्छ । 

लोक्ता  उच्च पहाडी क्षेत्रमा पाइने भएकाले औषधीय गुण हुन्छ र कीराले खाँदैन । पानीबाट जोगाउन सके यो कागज ३ देखि ४ हजार वर्षसम्म प्रयोगमा ल्याउन सकिने साउदको भनाइ छ । 

बाबियोको प्रयोग बढेपछि नेपाली कागजको गुणस्तर घटेको छ । जसको प्रत्यक्ष असर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा परेको उद्योगी साउद बताउँछन् । उद्योगी र सरकार दुवै पक्षले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनले बताए । 

बाबियोको प्रयोग बढ्नुको कारण बताउँदै साउदले भने, ‘सन् १९८० मा यूएनडीपीको सहयोगमा ‘भक्तपुर पेपर क्राफ्ट’ स्थापना भएको थियो । जसले गर्दा नेपाली कागजको विदेशमा बजार सुरु भयो त्योभन्दा पहिला विदेश पठाउने गरेको थिएन । त्यसपछि नेपाली कागजको व्यावसायिकता सुरु भएको हो ।’

त्यस्तै हाते कागज उद्योगका लागि मुख्य चनौती गुणस्तरीय समान उत्पादनमा छ । सो समस्याको समाधानका लागि सहकारी वा पब्लिक कम्पनीमार्फत अगाडि बढ्न सकेका देशभरिका सबै उद्योगबाट उत्पादन भएका सामानको एकै ठाउँबाट बजारीकरण गर्न सकिन्छ । 

साथै त्यसरी सहकारीमार्फत अगाडि बढ्दा प्रविधिको विकास गर्न पनि सजिलो हुने नरेन्द्रले बताए । हाल देशका ५८ जिल्लामा हाते कागज उद्योग सञ्चालनमा छन् । नरेन्द्रका अनुसार, हाते कागज उद्योगको स्वदेश र विदेश दुवै ठाउँमा बराबरी नै व्यापार भएको छ । 

करिब १ लाखबाट सुरु भएको लक्ष्मी हाते कागज उद्योगले अहिले करिब ६० लाखको कारोबार गर्दै आएको छ । साथै सबै खर्च कटाएर वार्षिक करिब ५ लाख बचत हुने नरेन्द्र बताउँछन् । उक्त उद्योगको शाखा भने भक्तपुरमा मात्रै रहेको छ । 

हाल नेपालमा २ प्रकारले हाते कागज बनाइन्छ, परम्परागत र जापानिज विधि प्रयोग गरेर । विक्रम संवत् २०४३ सालतिर नरेन्द्रका बुबाले जापानिज प्रविधिबाट कागज बनाउन सिकेका हुन् ।

त्यस बेला जापानिजहरू अाएर जापानिज प्रविधि सिकाइएका  थिए। हालसम्म पनि त्यही प्रविधि प्रयोगमा रहिरहेको छ । तर, जापानी प्रविधि परम्परागत प्रविधिको तुलनामा महँगो पर्छ । 

नयाँ उद्यमीले ५ लाख लगानी गरेर घरेलु उद्योगको क्षेत्रमा प्रवेश गर्न सक्ने उनको भनाइ छ । नयाँ उद्यमी बन्न चाहानेलाई सुझाव दिँदै उनी भन्छन्, ‘सामान्य रूपमा घरपरिवारका सदस्य मात्रै मिलेर काम गर्नका लागि धेरै समस्या र लगानीको आवश्यकता पर्दैन । तर, कर्मचारी राखेर अलि ठूलै उद्योग सञ्चालन गर्छु भन्नेले पहिले हाते कागजबारे बुझेर मात्रै प्रवेश गर्दा राम्रो हुन्छ ।’ 

नेपालमा करिब ४ सयवटा हाते कागज उद्योग दर्ता भइसकेका छन् । यी उद्योगबाट कागजको वार्षिक रूपमा करिब १ अर्बको व्यापार हुने गरेको छ । नेपाली कागज ५६ वटा देशमा बिक्री हुने गरेको छ । 

ती उद्योगमा करिब ६० हजार घरपरिवार आश्रित रहेको नरेन्द्र बताउँछन् । कामदारमध्ये ७५ प्रतिशत महिला छन् । विशेषगरी दुर्गम क्षेत्रका मानिस संलग्न छन् । कागज बनाउनका लागि कुनै पनि आधिकारिक शिक्षा लिनुपर्दैन ।

सामान्यतयाः १५ दिनको तालिम लिएमा काम गर्न सकिन्छ । सरकारले भने कोर्षका लागि भनेर ३ महिनाको समयावधि छुट्याइएको छ । तालिम लिनका लागि त्रिपुरेश्वरमा रहेको घरेलु तथा साना उद्योगको प्रशिक्षाण विभागमा सम्पर्क गर्न सकिन्छ । 

कृषि जस्तै व्यवसाय भएकाले घरेलु उद्योगलाई सरकारले सहज रूपमा सौलियत कर्जा उपलब्ध गराउनुपर्ने साउद बताउँछन् । तर, अनुदान आफूहरूको माग नरहेको उनको भनाइ छ ।

नरेन्द्र भन्छन्, ‘सरकारले अनुदान दियो भने पैसा लिएर व्यवसाय सञ्चालन नगर्ने धेरै जना छन् त्यसैले हामीलाई सहयोग स्वरूप सौलियत कर्जा दिए हुन्छ अनुदान पर्दैन ।’ त्यस्तै सरकारी कामकाजमा पनि नेपाली कागजको प्रयोगलाई बढाउनु पर्ने उनको भनाइ छ । साथै समय अनुसारको आधुनिक प्रविधिको प्रयोग गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने उनले बताए ।

अहिले पनि दाउरामा लोक्ता, अर्गेली, बाबियो पकाउनु पर्ने अवस्था रहिरहेको छ । नेपालमा बिजुलीको अवस्था राम्रो भएकाले बिजुलीबाट चल्न मिल्ने प्रविधिको प्रयोग गर्न सरकारले ध्यान दिन सके हाते कागज उद्योग क्षेत्रले फड्को मार्न सक्छ । साथै लगानी घटेर उत्पादनमा सहज हुन्छ । 

कागज बनाउनका लागि लोक्ता, अर्घेली वा बाबियोमा कास्टिक सोडा मिसाएर आगोमा १२/१३ घण्टासम्म पकाउनुपर्छ । कागज सुकाउनका लागि जापानिज प्रविधिको प्रयोग गर्दा एकडेढ घण्टा लाग्छ भने परम्परागत प्रविधिको प्रयोग गर्दा ३/४ घण्टा नै लाग्ने गर्छ । कागज सुकाउनका लागि घाम लागेको समयमा मात्रै मिल्ने भएकाले त्यसमा पनि नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सरकारले हाते कागज उद्योगको क्षेत्रलाई आधुनिक ढङ्गबाट अगाडि बढाउने हो भने, ८ देखि १० लाख युवाले स्वदेशमै रोजगारीको अवसर सिर्जन हुन्छ । 

शुक्रबार​ १४ जेठ २०७८ ०७:२० AM मा प्रकाशित

प्रतिक्रिया