काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बिहीबार राष्ट्रिय तथ्यांक लेखा विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार देशको आर्थिक वृद्धिमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले आर्थिक विस्तारमा सघाउ पुर्याएको छ ।
तथ्यांकको विस्तृत विवरणसहित
१. आर्थिक वृद्धि ५.४९ प्रतिशत
![](https://www.capitalnepal.com/uploads/photos/gdp.JPG)
चालू आर्थिक वर्ष (०७८/०७९)मा आधारतभूत मूल्यमा ५.४९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । विभागले सार्वजनिक गरेको विवरणमा उपभोक्ता मूल्यका आधारमा भने आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने प्रक्षेपण छ । आर्थिक वृद्धिको कुरा गर्दा कुल गार्हस्थ उत्पादन (जीडीपीमा) आधारभूत मूल्यलाई मानकका रुपमा लिने गरिन्छ ।
२. क्षेत्रगत वृद्धि
कुल अर्थतन्त्रमा १३.७ प्रतिशत हिस्सा रहेको द्वितीय क्षेत्रका रुपमा परिचित उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्रमा सबैभन्दा बढी वृद्धि देखिएको छ । गत आर्थिक वर्षको स्थिर मूल्यमा चालू वर्ष १०.२९ प्रतिशतले द्वितीय क्षेत्र वृद्धि हुने अनुमान छ । द्वितीय क्षेत्रको वृद्धिमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भएकाले सकारात्मक प्रभाव परेको हो । अर्कोतिर ६१.८ प्रतिशत योगदान रहेको सेवा क्षेत्रको वृृद्धि दर ५.९३ प्रतिशत छ । त्यसैगरि २४.५ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रको वृद्धि दर भने २.४४ प्रतिशत छ ।
![](https://www.capitalnepal.com/uploads/photos/sector.png)
३. अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा २३.९५ प्रतिशत हुँदा खानी तथा उत्खन्नको ०.५८ प्रतिशत मात्र
विभागले विभिन्न १८ क्षेत्रम विभाजित गरेर अर्थतन्त्रमा कुन क्षेत्रको हिस्सा कति भन्ने देखाउँछ । क्षेत्रगत रुपमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको २३.९५ प्रतिशत छ भने सबैभन्दा कम खानी तथा उत्खनन्को ०.५८ प्रतिशत छ ।
![](https://www.capitalnepal.com/uploads/photos/278781923-5050477998367122-1725098928155630741-n.png)
४. कुनै क्षेत्र ऋणात्मक छैन
चालू वर्ष कुनै पनि क्षेत्रको वृद्धि दर ऋणात्मक छैन । माथिल्लो तामाकोसीका कारण विद्युत, ग्यास, वाफ तथा वातानुकूलित सेवा ३६.६७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन त्यसका उपचारात्मक क्षेत्र ०.७२ प्रतिशतको वृद्धि हुने देखिएको छ । यसअघि वर्षमा कोभिड-१९ कारण क्षेत्र ऋणात्मक भएका थिए ।
५. अर्थतन्त्रको आकार
चालू वर्षको अर्थतन्त्रको आकार चालू मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । आधारभूत मूल्यले विभागले मानेको आधार वर्षका आधारमा मूल्य तय भएको मानिन्छ भने उपभोक्ता मूल्यले उपभोक्ताले तिरेको मूल्यलाई सम्झने गरिन्छ । चालू मूल्यले हाल चलेको मूल्य भन्ने अर्थ लगाउँछ ।
६. कुल उत्पादन
चालू वर्षको ६ देखि ९ महिनाको विभिन्न क्षेत्रको उपलब्ध तथ्यांकका आधारमा मुलुकभित्र ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा उत्पादन भएको मानिन्छ । यसलाई आधार मूल्यमा गणना गरिन्छ ।
७. झिनो बचत
विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू वर्ष बचतको मात्रा झिनो देखिएको छ । अर्थात् मानिसहरुले जति कमाएका छन्, लगभग त्यति नै खर्च गर्ने गरेको पाईन्छ । चालू वर्ष नेपालमा १०० रुपैयाँ कमाइ गर्नेले ९० रुपैयाँ ७३ पैसा खर्च गर्ने गरेको पाईन्छ । यसको अर्थ ९ रुपैयाँ २३ पैसा मात्रै बचतका रुपमा रहन्छ ।
तर, वैदेशिक रुपमा प्राप्त हुने विप्रेषणलाई समेत आधार मान्दा भने कुल राष्ट्रिय बचत जीडीपीको ३१.९५ प्रतिशत रुपमा रहने प्रक्षेपण छ । यसको अर्थ विप्रेषणबाट आम्दानी प्राप्त हुँदा पनि कुल खच गर्ने हिस्सा भने ६९.०५ प्रतिशत रहेको छ ।
८. बढ्दो प्रतिव्यक्ति आय
प्रतिव्यक्ति आय गत वर्षभन्दा १ सय ८१ अमेरिकी डलरले बढेर १३७२ डलर पुगेको छ । यसलाई प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन पनि भन्ने गरिन्छ, जुन नेपाली रुपैयाँमा १ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ रहेको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १ लाख ६५ हजार ६ सय ४९ रुपैयाँ अर्थात् १३८१ डलर रहने प्रक्षेपण विभागले गरेको छ ।