काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले गरेको निर्णय उल्टाउँदै कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभागीय प्रमुखहरूलाई खुसी बनाउन खरिदकार्य खुला गरेका छन् ।
यसअघि महाप्रबन्धक पौडेलले अनावश्यक रूपमा विभागीय प्रमुखहरूले आफूखुसी सामानहरू खरिद गर्दा स्टक धेरै देखिएको भन्दै खरिदकार्य प्रक्रिया बन्द गराएका थिए । निगम सञ्चालक समितिको बैठकले विभागीय प्रमुखहरूले आफूखुसी खरिद गर्न नपाउने र गर्न परे महाप्रबन्धकमार्फत समितिको निर्णय चाहिने व्यवस्था लागू गराएका थिए ।
यसअघि विभागीय प्रमुखहरूले जथाभावी सामानहरू खरिद गर्दा स्टक सामानहरू बढेको थियो । त्यति मात्र हैन, विभागीय प्रमुखहरू अवकाश हुँदा ६ महिनादेखि १ वर्षसम्मका लागि पुग्ने सामानहरू किन्ने, एउटा सामान बिग्रिए सबै सामानहरू किन्ने प्रवृत्ति निगमभित्र मौलाएको थियो । कुनै एउटा सामान बिग्रिएमा एकै पटक धेरै सामानहरू किन्ने र कमिसनमा लाग्ने गरेको दाबी गर्दै महाप्रबन्धक पौडेलले खर्चमा लगाम लगाएका थिए ।
निगममा कार्यकारी अध्यक्ष बनेर आएका अधिकारीले भने कर्मचारीहरूलाई खुसी बनाउनकै लागि खरिद प्रक्रियालाई खुला गरिदिएका छन् । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकलाई बाहिर राखेर एक साताअघि बसेको सञ्चालक समितिको बैठकले विभागीय प्रमुखहरूलाई खर्च गर्ने बाटो खुला गरिदिएका छन् ।
योसँगै अब फेरि विभागीय प्रमुखहरूले आफ्नो विभागमा आपूmखुसी खर्च गर्न पाउने भएका छन् । यसअघि विभागीय प्रमुखहरूको खर्च गर्ने अधिकार २०/२५ लाख रुपैयाँसम्मको मात्र भए पनि अब भने खरिद कार्य गर्न पाउने भएका छन । विभागीय प्रमुखहरूले कमिसनको लोभमा आवश्यकताभन्दा बढी सामानहरू खरिद गरेको यसअघि प्रमाणसमेत भेटिएको थियो ।
निगमका महाप्रबन्धक पौडेलले अनावश्यक स्टक राख्ने र बजेट सक्ने उद्देश्यले मात्र ती प्रमुखहरूको देखिएकाले त्यसलाई रोक्नका लागि सञ्चालक समितिबाटै निर्णय गराएर रोकेको जानकारी दिए । कार्यकारी अध्यक्ष अधिकारीलाई सम्पर्क गर्दा यस विषयमा कुनै प्रतिक्रिया जनाउन चाहेनन ।
हालका कार्यकारी अध्यक्ष अधिकारी यसअघि निगम भित्रकै अर्थ विभाग प्रमुखबाट अवकाश पाएका उच्च अधिकारी हुन् । उनलाई विभागभित्र रहेर सामान खरिद गर्दा आउने कमिसनको विषयमा राम्रो ज्ञान भएको कारणले पनि कर्मचारीहरूलाई खुसी बनाउन यस अघिको निर्णय उल्टाएको हुन सक्ने निगम भित्रकै कर्मचारी युनियनको दाबी छ ।
निगम भित्रको बेतिथि अन्त्यका लागि बेला–बेलामा आवाज उठ्दै आएको भए पनि अहिलेका अध्यक्ष अधिकारीले कर्मचारीलाई नै खुसी बनाउन खरिद खुला गरेको कर्मचारी युनियनको दाबी छ ।