बुधबार, कात्तिक ३ २०७८ ०९:१७ AM

×

प्राधिकरण भन्छ-बिजुली छेलोखेलो, पूर्वका उद्योगले अझै पाएनन् मागेजति विद्युत

images

विराटनगर । नेपाल विद्युत प्राधिकरणले बिजुली छेलोखेलो भएको बताइरहेका बेला पूर्वका उद्योगहरुले मागेजति अझै  पाउन सकेका छैनन् । माग गरेको लामो समय भइसक्दा पनि बिजुली नपाउनु दुःखको कुरा भएको उद्योगीहरुले बताएका छन् । 

मागभन्दा बढी बिजुली उत्पादन भएर खेर गएको भन्दै खपत बढाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारत गएका थिए । भारतबाट आएपछि उनी खपत बढाउन देश दौडाहामा छन् । माथिल्लो तामाकोसीबाट उत्पादन भएको बिजुली खपत नभएपछि २ वटा युनिट बन्द गरिएको थियो । यता लामो समयदेखि बिजुली माग्दा पनि प्राधिकरणले ध्यान नदिएको आरोप उद्योगीहरुको छ । 

प्राधिकरण प्रदेश नम्बर १ को प्रादेशिक कार्यालयका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै अझै ५० मेगावाटभन्दा बढी बिजुलीको माग छ । त्यहाँ बर्सेनि उद्योग थपिने क्रम बढेको छ । प्राधिकरणले मागेको बिजुली नदिँदा उद्योगहरुले अझै पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

२५ एमभीए मागेको पशुपति आइरनले अहिलेसम्म २० एमभीए मात्र बिजुली पाएको छ । उसले अझै ५ एमभीए अझै पाएको छैन । स्वस्तिक आइरनले १० एमभिए  पाएको छ । थप ६ एमभीए माग गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले ४ एमभीए मागेको छ । हुलास वायरले थप १५ एमभिए मागेको प्राधिकरण दुहवी वितरण केन्द्रले जनाएको छ । 

त्यसैगरी मोरङको आरती स्ट्रिप्सले ७ एमभीएको माग गरेको छ । ५ एमभीएभन्दा कम माग्ने धेरै उद्योगहरु रहेका छन् ।  उद्योगहरुले थप माग गरेको बिजुली दिन प्रक्रिया अघि बढिरहेको प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले जानकारी दिए । ‘विद्युतको लोडदेखि सबैको कुराका लागि हामीले प्रादेशिक कार्यालय हुँदै केन्द्रसम्म सिफारिस गर्नुपर्छ’, उनले भने, सबै प्रक्रिया पुरा भएपछि उद्योगहरुले मागेजति बिजुली पाउनेछन् ।’

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सुनसरीको दुहबीस्थित सब–स्टेसनबाट वितरण गरिन्छ । हाल दुहबी सब–स्टेसनमा ६३ एमभीएका ३ वटा र ३० एमभीएको १ ट्रान्सफर्मरहरु छन् । दुहबीबाट २१९ एमभीए क्षमताका ट्रान्सफरमरबाट पूर्वका २ जिल्लामा बिजुली वितरण भइरहेको छ  ।

दुहबीका ६३ एमभीएका ३ वटै ट्रान्सफर्मरलाई १०५ एमभिएमा रूपान्तरण गर्न ठेक्का लागिसकेको जनाईएको छ । बढी क्षमताका ट्रान्सफर्मरहरु राखेर विद्युतको मागलाई परिपूर्ति गर्ने उदेश्यले सोही अनुसारको काम भईरहेको प्राधिकरण दुहबी वितरण केन्द्रले जनाएको छ ।

पूराना भएका ट्रान्सफर्मरले गर्दा पनि विद्युत आपुर्तिमा समस्या देखिएको विराटनगर वितण केन्द्रका प्रमुख खड्काले जानकारी दिए । ‘उद्योगीहरुको मागलाई सम्बोधन गर्नको लागि आफुहरु लागिरहेको र अब केहि महिनामा माग सम्बोधन हुनेछ’ प्रमुख खड्काले भने । 

सोमबार ११ असोज २०७८ ०७:४८ AM मा प्रकाशित

प्रतिक्रिया