मङ्गलबार, असोज १२ २०७८ ०५:२१ PM

×

फाइभजी परीक्षण कार्यविधि पारित, टेलिकमलाई निर्देशन दिने प्राधिकरणको तयारी

images

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सोमबार फाइभजीलगायत नयाँ प्रविधि परीक्षण सम्बन्धि कार्यविधि २०७८ पारित गरेको छ । यससँगै अब सेवाप्रदायकलाई फाइभजी तथा नयाँ प्रविधि परीक्षणका लागि बाटो खुल्ने भएको छ ।

कार्यविधिअनुसार फाइभजी तथा सम्भावित नयाँ प्रविधि परीक्षण गर्न चाहाने सेवा प्रदायकले अब परीक्षण मोडालिटी, नयाँ प्रविधि बारे जानकारी, परीक्षण गरिने स्थान, उपलब्ध गराउने सेवा तथा प्रक्रिया, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी विवरण, नेवटर्क जडान तथा सञ्चालनको समय तालिकासहितको कार्ययोजना निवेदन प्राधिकरणमा पेश गर्नुपर्नेछ । 

यस्ता प्रविधि परीक्षण गर्दा सेवा प्रदायकले ग्रामीण र शहरी दुबै क्षेत्र समेट्नु पर्नेछ । स्वीकृति लिई परीक्षण सुरु गर्दा आवश्यक पर्ने हार्डवेयर तथा सफ्टवेयर आयात तथा जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई अनिवार्य जानकारी गराउनु पर्नेछ ।

स्वीकृत पाएको ३ महिनासम्म पनि आवश्यक उपकरण आयात तथा जडान सम्बन्धि कार्यमा प्रगति नदेखाएमा प्राधिकरणले रद्ध गर्ने कार्यविधिमा उल्लेख छ । 

परीक्षणका लागि प्राधिकरणले अधिकतम १ वर्षका लागि निःशूल्क फ्रिक्वेन्सी उपलब्ध गराउने र सम्पन्न भएपछि पुनः फिर्ता लिनेछ । सेवाप्रदायकले पनि परीक्षणकालभरी सेवाग्राहीबाट कुनै शूल्क उठाउन पाउने छैन । 

परीक्षणकालमा प्रयोग भएका उपकरणलाई सेवाप्रदायकले प्राधिकरणको अनुमति लिएर फोरजीका लागि पुनः प्रयोग गर्नसक्ने छ । प्रयोग नभएको खण्डमा प्राधिकरणकै रोहोबरमा त्यसलाई सिल गरेर राख्नु वा सम्बन्धित बिक्रेतालाई फिर्ता दिई नियामकलाई जानकारी गराउनु पर्नेछ । 

परीक्षणकालमा सेवाप्रदायकले प्राधिकरणले माग गरेको विवरण नियमित बुझाउनु पर्नेछ भने देखिएका असर, समसया , चुनौती, राय सुझाव सहितको प्रतिवेदन तीन तीन महिनामा प्राधिकरणमा पेश गर्नुपर्नेछ । यसबाहेक परीक्षण सम्पन्न भएपछि कम्पनीले त्यस सम्बन्धि विस्तृत विवरणसहितको प्रतिवेदन समेत पेश गर्नुपर्नेछ । 

यसअघि नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि प्राधिकरणमा आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेको छ । कार्यविधि नबनिसकेकोले प्राधिकरणले उक्त कार्ययोजनामा कुनै निर्णय लिन सकेको थिएन । 

अब कार्यविधि बनिसकेको अवस्थामा टेलिकमको कार्ययोजनामाथि अध्ययन गरी आवश्यक निर्देशन दिने प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताए । 

‘अर्को हप्ताको मध्यसम्ममा हामी टेलिकमलाई थप निर्देशन दिने छौं, उनीहरुको कार्ययोजना ठिक रहेछ भने फाइभजी परीक्षणका लागि बाटो खुल्नेछ’ उनले भने । 
 

मङ्गलबार १२ साउन २०७८ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया