काठमाडौं । बैंकहरुले कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड रेट)मा खेल्दै धमाधम ऋणीहरुको ऋणमा ‘प्रिमियम’ थप्न थालेका छन् । बैंकहरुले ऋणीलाई फोन गर्दै प्रिमियम बढाएको जानकारी दिन थालेपछि ऋणीहरु सशंकित भएका छन् । प्रिमियम बढेको सन्देश लिएर कतिपय ऋणीहरु नियामक निकाय केन्द्रीय बैंकको शरणमा पुगिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई सुरुमा दिइएको ब्याजको आधार दर (वेस रेट)मा थपिएको प्रिमियम ऋण अवधिभर चलाउन नपाइने भए पनि तरलता (लगानीयोग्य रकम) अभाव भएको भन्दै धमाधम प्रिमियम थप गर्न थालेका हुन् । खासगरी तोकिएको सीमाभन्दा कम स्प्रेड रेट भएका संस्थाहरुले प्रिमियम उच्च दरमा बढाउने कोसिस गरेका छन् ।
त्यसै पनि बैंकहरुले खेल्ने पर्याप्त ठाउँ राख्दै ब्याजदरको सूचनामै प्रिमियम ७ प्रतिशत जोडिने उल्लेख गरेका हुन्छन् । पछिल्लो समय केन्द्रीय बैंकले बेस रेटमा प्रिमियम लगाउने व्यवस्था गरेको छ । वेस रेट बढ्यो ब्याजदर पनि बढ्छ र बेस रेट घटेमा ब्याजदर पनि घट्नुपर्छ । तर, वित्तीय संस्थाहरुले वेस रेट नबढेकै अवस्थामा धमाधम प्रिमियम थपेर ब्याजदर बढेको जनाउ दिन थालेका हुन ।
अहिले बैंकहरुले स्प्रेड ४.४ प्रतिशतको सीमामा राख्नुपर्छ । धेरै बैंकहरुको स्प्रेड तोकिएको सीमाभन्दा कम भएकाले स्प्रेड बढाएर मौकामा चौका हान्न खोजेका हुन् । २०७८ असारसम्म २० वटा बैंकहरुको स्प्रेड रेट ४ प्रतिशतभन्दा कम छ । यसअवधिमा सबैभन्दा बढी स्प्रेड कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको समान ४.३७ प्रतिशत छ भने सबैभन्दा कम सिभिल बैंकको २.५२ छ ।
बैंकले आफूसँग लगानीयोग्य रकम नभएको बहाना देखाएर थप प्रिमियम चार्ज गरेर त्यहाँबाट आम्दानी गर्न लागेका हुन् । बैंकले मनलाग्दी रुपमा प्रिमियम लिन थालेपछि ऋणीहरु धमाधाम केन्द्रीय बैंकको शरणमा पुगेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पछिल्लो केही दिनयता बैंकहरुले आफूखुसी प्रिमियम बढाएको भन्ने गुनासो केन्द्रीय बैंकमा आएको बताए ।
‘केही बैंकविरुद्ध उजुरी पनि परेको छ’ ढकालले भने, ‘उजुरी परेका बैंकहरुमाथि केन्द्रीय बैंकले सूक्ष्म निगरानीसमेत गरिरहेको छ ।’ उनका अनुसार यसरी बैंकले आफूखुसी प्रिमियम थप्न पाउँदैन ।
‘बैंकविरुद्ध उजुरी केन्द्रीय बैंकमा दर्ता गराएको छु’ एक ऋणीले भने, ‘यसरी बैंकले जबरजस्ती प्रिमियम चलाउन पाउँदैन । बैंकको आधारदर बढेको अवस्थामा बैंकको ब्याज बढ्नु स्वाभाविक हो । तर, बैंकको आधारदरमा कुनै हेरफेर भएको छैन् । तैपनि बैंकले थप प्रिमियम थपेको जानकारी दिन थालेका छन् ।’
बैंकले ठूला ऋणीलाई भन्दा पनि साना ऋणीको प्रिमियम बढाएका छन् । केन्द्रीय बैंकसम्म पहुँच नभएका ऋणीलाई फोन गरेर प्रिमियम थपेको जनाउ दिइरहेका छन् । तर, केही ऋणीले आफूसँग भएको सम्झौताविपरीत प्रिमियम थपे केन्द्रीय बैंकमा उजुरी हाल्ने बताइरहेका छन् ।