बुधबार, कात्तिक ३ २०७८ १०:१३ AM

×

ठूला लगानीकर्तालाई पेल्न खोज्दा तङ्ग्रिएन बजार, दैनिक अर्बौं कारोबार गर्ने लगानीकर्ता भित्रिएनन् 

images

काठमाडौं । विगतका वर्षमा यतिखेर सेयर बजारमा रौनक हुन्थ्यो । किनभने, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव गरिरहेका हुन्थे ।

तर, अहिले सूचीकृत कम्पनीले धमाधम प्रतिफल घोषणा गर्दा पनि बजार रातम्मै छ । सेयर बजारमा कारोबार गर्ने सबै लगानीकर्तालाई अहिले प्रतिफल आउने समय भन्ने थाहा छ । तैपनि उनीहरुको बलबुताले बजार जोगाउन सकेका छैनन् । किनभने, उनीहरुसँग थप लगानी गर्ने तागत नै सकिएको छ । 

केन्द्रीय बैंकले ठूला लगानीकर्तालाई पेल्न खोज्दा सेयर बजार उठ्नै सकेको छैन । ठूला लगानीकर्ता भनेको बजारको ब्याकअप हुन् । केन्द्रीय बैंकले ब्याकअपको रुपमा रहेका शक्तिलाई निस्तेज पार्न खोजेपछि बजारले उकालो यात्रा समाउन सकेको छैन । 

केन्द्रीय बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ रुपैयाँ मात्रै लिन पाउने नीतिगत व्यवस्था गरेपछि ठूला लगानीकर्ता गम्भीर समस्यामा परेका छन् । त्यही भएर उनीहरुले धमाधम सेयर बेचेर बैंकमा रहेको ऋण तिरे । 

बैंकले अहिले सेयर धितो कर्जा १२ करोड रुपैयाँभन्दा बढी दिएका छैनन् । यदि केन्द्रीय बैंकले आफ्नो पूर्ववत् निर्णयलाई नसच्याउने हो भने ठूला लगानीकर्ता मार्केट छिर्ने सम्भावना कम छ । 

ठूला लगानीकर्ताले साना लगानीकर्ताको मनोबल बढाउने काम गर्छन् । लगानीकर्ताको मनोबल बढ्नु बजारमा लागि सुखद् मानिन्छ । तर, अहिले दैनिक रुपमा लाखौं कित्ता सेयर किन्नेहरु विगत एक महिनादेखि मौन छन् । आफूसँग भएको अधिकांश सेयर बेचेका उनीहरु थप किन्न उत्साही देखिँदैनन् । त्यसैको असर आइतरबारको सेयर बजारमा समेत परेको छ । 

यसअघि तरलता अभावका कारण बजारमा समस्या देखिएको थियो । तर, अब बजेट अनुमोदन भइसके पछि विकास हुन थालिसकेको छ । त्यहाँबाट पनि पैसा आइरहेको छ । 

समग्रमा साताको प्रारम्भबाटै सरकारी ढुकुटीको खर्च हुन थालिसकेको छ । स्थानीय निकायमा पनि पैसा निकासा हुन थालिसकेको छ । यसआधारमा अब विस्तारै वित्तीय प्रणालीमा तरलता सहज हुनेछ । यस्तै, दसैं-तिहारमा रेमिटेन्स भित्रिने क्रम बढ्नेछ । सर्वसाधारणले पनि यस बेला बढी खर्च गर्ने भएकाले बजारमा पैसाको आपूर्ति बढ्नेछ । 

यी सबै कुराहरु भइरहँदा पनि केन्द्रीय बैंकले ४ र १२ करोडको क्यापलाई खुकुलो नबनाउँदासम्म बजार माथि जाने सम्भावना देखिँदैन । ठूला लगानीकर्तालाई बजारमा फर्काउन जरुरी छ ।  

यतिबेला लाभांशको सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । बैंकहरुले समेत लाभांश प्रस्ताव गर्न थालेका छन् । प्रारम्भिक लाभांश पनि निकै आकर्षक देखिएका छन् । कामना सेवा विकास बैंक, सिटिजन्स बैंक, सानिमा र माछापुच्छ्रेको लाभांशले पनि लगानीकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको छ । अब विस्तारै अरू बैंकहरुले पनि लाभांश प्रस्ताव गर्न थाल्नेछन् । 

साताको पहिलो दिन आइतबार ६१ अंकले सूचक घटेर २७५८.४८ बिन्दुमा आइपुगेको छ । यसदिन सबैभन्दा बढी जीवन तथा निर्जीवन बिमा कम्पनीको मूल्य घटेको छ । यसदिन ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

आइतबार​ १० असोज २०७८ ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया