काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट फतुवा विजयपुर नगरपालिकाका तत्कालीन एवं हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सो कार्यमा संलग्न नगरप्रमुख यादवसहित तत्कालीन उपप्रमुख कान्तिदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष सञ्जयप्रसाद, २ का तत्कालीन वडाध्यक्ष भविछन राय यादव, ३ का तत्कालीन वडाध्यक्ष दीपनारायण साहविरुद्ध आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
यस्तै वडा नम्बर ५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद, ६ का तत्कालीन वडाध्यक्ष हीरा राय याद, ८ का तत्कालीन एवं हालका वडाध्यक्ष र नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरी, १० का तत्कालीन वडाध्यक्ष योगेन्द्रप्रसाद चौधरी, ११ का तत्कालीन एवं हालका वडाध्यक्ष ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह साुन, सुन्दरी माझी, जिरनी देवी, फुलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशिकुमार साह र रवीन्द्र कुमार निधिविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको बकैया नदीको ठेक्का सम्बन्धमा नगरकार्यपालिकाको निर्णण कार्यान्वयन गराउन बेवास्ता गरेको, सर्वाधिक बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता अस्वीकार गर्दा दोस्रो बढी बोलकबोल गर्नेलाई सम्झौता गर्ने बोलाउने र पहिलोको धरौटी जफत गर्नुपर्नेमा अमानतबाट राजस्व संकलन कार्य जारी दिएको आयोगमा आरोपपत्रमा उल्लेख छ ।
यस्तै नगर कार्यपालिकाको बैठकले धरौटी फिर्ता दिने निर्णय गरेका कारण नगरपालिकाको राजस्वमा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ । साेही रकमलाई बिगो कायम गरी विजयपुर नगरपालिकालाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत रकम भराउन मागदाबीसमेत गरेको छ ।
यस्तै फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेर र रञ्जना साह कार्यरत हुँदा नगर कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा बेवास्ता गरेको, म्याद सकिएपछि पनि सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाही नगरेको आरोपल आयोगको छ ।
उनीहरुविरुद्ध पनि आयोगले सोही रकमबराबरको मागदाबी गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।