काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सिमेन्टसम्बन्धी रिपोर्ट हावादारी र प्रायोजित रुपमा बनाइएको उद्योगीले आरोप लगाएका छन् । तथ्य र तथ्यांकलाई तोडमोड गरेर वास्तविकता लुकाएर रिपोर्ट तयार पारिएको सिमेन्ट उत्पादक संघले जनाएको छ ।
केन्द्रीय बैंकले केही दिनअघि नेपालका सिमेन्ट उत्पादनको सम्भावनासहित रिपोर्ट बनाएको थियो । सोही रिपोर्टलाई उद्योगीले हावादारी र प्रायोजित रुपमा बनाइएको आरोप लगाएका हुन् ।
रिपोर्टमा उल्लेख गरिएको सिमेन्ट उत्पादनको अवस्था, उद्योगको क्षमता र बजारको आकारअनुसार तथ्यांक नमिलेको संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । ‘त्यही भएर हामीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई रिपोर्टबाट नकारात्मक सन्देश गएको र यसलाई वास्तविकता समेटेर नयाँ ल्याउन माग गरिएको छ,’ थापाले भने, ‘उद्योगीसँगको भेटमा अधिकारीले आफ्ना इकोनोमिक्स डिपाटमेन्टसँग कुरा गरेर थप जानकारी दिने बताउनुभएको छ ।’ सिमेन्ट उत्पादन संघको पहलमा उक्त रिपोर्टविरुद्ध गभर्नर अधिकारीलाई ध्यानाकर्षण गराएको हो । अहिलेको वास्तविक अवस्थालाई इन्कार गर्दै आफूखुसी रिपोर्ट तयार पारेको उद्योगीहरुले आरोप लगाएका छन् ।
उक्त प्रतिवेदनमा नेपालमा वैदेशिक लगानीमा सिमेन्ट उद्योग खोल्न दिने सम्बन्धमा भएको अध्ययन प्रतिवेदनमा उल्लेखित तथ्यांहरु नै त्रुटिपूर्ण रहेको संघको ठहर छ । राष्ट्र बैंक जस्तो संस्थाबाट गरिने यस्ता अध्ययन प्रतिवेदनहरु विश्वसनीय हुने भएकोले यस्ता प्रतिवेदनहरुमा सम्बन्धित सबै सरोकारवालाहरुको समेत प्रत्यक्ष सहभागिता रहने गरी विस्तृत तथा अनुसन्धान गरी मात्र प्रकाशित हुनुपर्नेमा आंशिक अध्ययनअनुसार प्रकाशित प्रतिवेदनले भ्रम सिर्जना हुन गई नकारात्मक सन्देश प्रवाह भएको अध्यक्ष थापाले जनाकारी दिए ।
हाल स्वदेशमा ६५ वटा उद्योगहरु संचालनमा छन् । यी उद्योगहरुको सिमेन्ट उत्पादन क्षमता करिब २ करोड टन हाराहारीमा छन् । उद्योगहरुबाट उत्पादन हुने सिमेन्टले स्वदेशी माग पूरा गरी निकासी गर्ने क्षमता समेत राख्छन् । आफ्नो जडित क्षमतामा क्रमशः वृद्धि गर्दै गइरहेको र थप उद्योग खुल्ने क्रममा नै रहेको साथै विगतको तुलनामा सस्तोमासमेत सिमेन्ट बिक्री भइरहेको उनको भनाइ छ ।
बिगतका वर्षहरुदेखि विकटका परिस्थितिमासमेत नेपाली लगानीकर्ताहरुबाट लिडर तथा सिमेन्ट उत्पादन गर्ने उद्योगहरुमा भएको लगानी र देश सिमेन्टमा आत्मनिर्भर समेत भइसकेको वर्तमान अवस्थामा अब पनि सिमेन्ट उद्योगहरुमा विदेशी लगानी आवश्यक रहेको भनी प्रतिवेदन आउनु सम्पूर्ण स्वदेशी सिमेन्ट उद्योगहरुको प्रतिकूल रहेकाले विस्तृत अध्ययन तथा यर्थाथपरक अनुसन्धान नगरी आएको प्रतिवेदनले भ्रम सिर्जना गर्ने भएकाले सम्बन्धित सबै सरोकारवालाहरुको समेत सहभागितामा विस्तृत अध्ययन तथा अनुसन्धान र सत्यतथ्य यकिन गरी संशोधित प्रतिवेदन प्रकाशित गर्नुपर्ने माग गरिएको छ ।
स्वदेशमा स्थापित उद्योगहरू नै पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेको वर्तमान अवस्थामा विदेशी लगानीमा आउने सिमेन्ट उद्योगहरुको कुनै औचित्य एवम् आवश्यकता नरहेको जानकारी गराउदै उक्त अध्ययन प्रतिवेदन संशोधित रुपमा प्रकाशित गर्न माग गरिएको छ ।