×

व्यवसायी र बैंकर वार्ताः ब्याजदर घटाउने विषयमा छलफल

images

काठमाडौं । बढेको ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीबीच निरन्तर वार्ता भइरहेको छ। 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै यसअघि स्थगित गरिएको सडक आन्दोलनलाई महासंघले पुनः सुरु गर्ने बताइरहेका बेला परिसंघले भने वार्ता र छलफलबाट निकास खोज्न थालेको छ । परिसंघका अध्यक्ष पवन गोल्यानले आन्दोलनरत उद्योगी व्यवसायीहरूको संस्थाहरूसँग केही दिनदेखि नियमित रूपमा वार्ता र संवाद भइरहेको जानकारी दिए। 

ब्याजदर बढेर उद्योगी व्यवसायीहरूमा परेको समस्याले आफूहरू पनि चिन्तित रहेको बताउँदै त्रिपक्षीय संवाद गरी टुंगोमा पुर्याउने रणनीति परिसंघको रहेको उनले बताए। विकास बैंकसहित विज्ञहरूसँग बसेर परिसंघले छलफल अगाडि बढाइसकेको र आन्दोलनमा उत्रिएको महासंघसँग पनि अनौपचारिक वार्ताहरू भइरहेकाले अबको केही दिनभित्रै टुंगोमा पुगिसक्ने उनले बताए। 

उद्योगी व्यवसायीले राखेको माग परिसंघले सम्बोधन गर्न नसक्ने भए पनि नेपाल राष्ट्र बैंकलाई आफूहरूको तर्फबाट सक्दो लचकता अपनाएर समाधान निकाल्न लागि पर्ने उनको भनाइ छ।

‘आइतबार हामी महासंघसँग निर्णायक वार्ता गर्दै छौं, परिसंघका अध्यक्ष गोल्यानले क्यापिटल नेपालसँग भने, वार्ताबाट ठोस निष्कर्ष निकालेर राष्ट्र बैंकलाई कार्यान्वयनका लागि सुझाव दिने छौं।’ ‘महासंघले भनेजस्तै अहिलेको संकटमा बैंक तथा वित्तीय संस्थाहरू मात्र सुदृढ हुने र अन्य उद्योग व्यवसायलाई धरासायी बनाउने पक्षमा हामी छैनाैं, अध्यक्ष गोल्यानले थपे, मुलुकको अर्थतन्त्र र उद्योग बचाउनका लागि हदैसम्मको लचकता अपनाउनका लागि तयार छौं।’

यता महासंघका अध्यक्ष शेखर गोल्छाले परिसंघसँग औपचारिक रूपमा वार्ता तथा छलफल नभएको बताए। ‘उहाँहरूसँग कुनै वार्ता, छलफल भएको छैन र प्रस्ताव पनि आएको छैन, महासंघका अध्यक्ष गोल्छाले भने, आगामी साता पत्रकारसम्मेलन गरी हाम्रा थप मागहरू सार्वजनिक गर्ने छौं।’ अहिले राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग ब्याजदर वृद्धिको विषयलाई लिएर नियमित रूपमा छलफल भइरहेको महासंघका अध्यक्ष गोल्छाको भनाइ छ।

महासंघले बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै आन्दोलन गरिरहेको छ। मुलुकको उद्योग, व्यवसायलाई बचाउन एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि सम्पत्ति लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गरी बैंकले लिने सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंकभन्दा बढी ब्याजदर नराख्न माग गर्दै आएका छन्।

चुनावी फन्डा नबनाउन आग्रह

परिसंघका अध्यक्ष गोल्यानले आन्दोलनमा उत्रिएका महासंघका पदाधिकारीहरूलाई ब्याजदरको विषयलाई लिएर चुनावी फन्डा नबनाउन आग्रह गरेका छन्। मुलुकको अर्थतन्त्र नै धरासायी बनिरहेको बेलामा बैंक तथा वित्तीय संस्थाहरू पनि संवेदनशील भएर काम गरिरहेको बेलामा महासघंले एकाएक विभिन्न मागहरू राखेर बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेको उनको भनाइ छ। 

 ‘अहिले कतिपय साथीहरूले महासंघको भावी निर्वाचनलाई समेत हेरेर सडकमा उत्रिनु भएको छ,’ अध्यक्ष गोल्यानले भने,जुन गलत विषय हो।’ नेपाल राष्ट्र बैंकसँग उद्योगी व्यवसायीसहित बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू बसेर समाधान गर्नका लागि तयार रहेको समेत उनको भनाइ छ।

शुक्रबार​ ९ मंसिर २०७९ ०५:१९ PM मा प्रकाशित

प्रतिक्रिया