काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग साँठगाँठ गरी भन्सार विभाग प्रमुखको जिम्मेवारी पाएका नारायणप्रसाद सापकोटाले व्यवसायीलाई नियतवश दुःख दिन थालेका छन् ।
सापकोटाले भन्सार असुलीलाई तीव्रता दिने नाममा भन्सार मूल्यांकन बढाएर दुःख दिँदै अनुचित लाभ लिइरहेको व्यवसायीले गुनासो गर्न थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका राजस्व समितिका सभापति सन्दीप गाडियाले भन्सार अधिकृतले सय प्रतिशतसम्म भन्सार मूल्यांकन बढाएर व्यापारीसँग बार्गेनिङ काम भइरहेको बताए ।
‘विगत एक महिनादेखि अन्धाधुन्ध भन्सार मूल्यांकन गर्ने र व्यवसायीसँग बार्गेनिङ गरेर टुंग्याउने काम भइरहेको गुनासो महासंघमा आएको छ’, समितिका सभापति गाडियाले भने, ‘खासगरी, भन्सार अधिकृतले ठूला र परिचित व्यवसायीसँग भन्दा पनि साना र पहुँच नभएका व्यापारीसँग बार्गेनिङ गर्ने गरेको गुनासो आइरहेको छ ।’
व्यवसायीले एलसीको डकुमेन्ट देखाउँदा भन्सार अधिकारीले त्यसलाई मान्न छाडेका छन् । त्यहाँ उल्लेख मूल्यमाथि सय प्रतिशतसम्म थपेर मूल्यांकन गर्ने गरेको व्यवसायीको आरोप छ ।
गाडियाका अनुसार यदि व्यापारीले न्यून बिजीकरण गरेर ल्याएको हो भने सरकारले उक्त सामान उल्लेखित मूल्यमै किनिदिए हुन्छ । भन्सारमा आइपुगेको सामानको अन्तर्राष्ट्रिय बजारमा कति मूल्इ पर्छ भन्ने तथ्य जहाँबाट पनि पाइन्छ । ‘कि न्यून बिजीकरण गरेर ल्याएको प्रमाणित गर्नुपर्यो, होइन भने व्यवसायीसँग अनुचित लाभ लिने कार्य बन्द गर्नुपर्यो’ उनको भनाइ छ ।
भन्सार अधिकारीले राजस्व बढाउने नाममा अनावश्यक दुःख दिन थालेको कुरा अर्थ मन्त्रालयमा जानकारी गराउँदासमेत सुनुवाइ नभएको उनीहरू बताउँछन् । ‘अर्थका अधिकारीलाई भन्सारमा भइरहेको विकृतिबारे जानकारी गराइसकेका छौं’, एक व्यापारीले भने, ‘तर, सुनुवाइ भने भएको छैन ।’
भन्सार प्रमुख सापकोटा अर्थमन्त्री शर्माका प्रिय पात्र हुन् । सोही कारण पनि अर्थका अधिकारीले उनीमाथि कुनै एक्सन लिन नसकेको बुझिएको छ । अर्थमन्त्रीको इच्छा पूरा गर्ने सर्तसहित त्यहाँ पुगेका उनीमाथि अर्थ–अधिकारी कसैले पनि औंला उठाउन सक्ने अवस्था नभएको अर्थकै एक अधिकारी बताउँछन् ।
अहिले अर्थमन्त्रीको गलत कार्यप्रति अर्थका कुनै पनि अधिकारी बोल्दैनन् । गतल कार्यको विरोध गर्नासाथ त्यो कर्मचारीको सरुवा भइहाल्ने भएकाले मन्त्रीका सबै गतल कार्य हेरेर बस्नुको विकल्प नभएको ती अधिकारी बताउँछन् ।
यता भन्सार प्रमुख सापकोटाले भने राज्यलाई फाइदा हुने काम गरेको जिकिर गरेका छन् । कसैसँग अनुचित लाभ लिएको र नियमसँगत नै काम गरिरहेको उनको तर्क छ ।
‘व्यवसायीले यसअघिसम्म अनुचित लाभ लिइरहेका रहेछन् । अहिले त्यो रोकिए पछि उनीहरूलाई छटपटी हुनु स्वभाविक हो’ सापकोटाको भनाइ छ ।
यो पनि हेर्नुहोस्
अर्थमन्त्रीको इसारापछि भन्सार प्रमुख सापकोटाको ज्यादति, मनलाग्दी भन्सार मूल्यांकन गरी असुली