काठमाडौं । उद्यमी व्यवसायीहरूले औद्योगिकीकरणको अवस्था अत्यन्त कमजोर रहेकालले यसलाई मजबुत बनाउनुपर्ने आैंल्याएका छन् । पछिल्लो तथ्यांकलाई मात्र विश्लेषण गर्ने हो भने कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत मात्र छ । वार्षिक ४.१ प्रतिशतको वृद्धि, निर्यात आयात अनुपात करिब १ः११ रहेको छ ।
चालू आवको पहिलो ४ महिनामा सरकारको पुँजीगत खर्च ४.९ प्रतिशत मात्र भएकाले पनि नेपालको औद्योगिक अवस्थाको यथार्थ चित्रण गर्ने उद्योगी व्यवसायीको भनाइ छ ।
सातौं औद्योगिक दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उद्यमी व्यवसायीहरूले औद्योगिकीकरणको अवस्था अत्यन्त कमजोर रहेकाले लागत न्यूनीकरणमार्फत द्योगिकीकरणमा जोड दिनुपर्ने सुझाव उद्यमी व्यवसायीहरूले दिएका छन् ।
यसका लागि उत्पादन लागत, वित्तीय लागत, उद्योगको प्रवेश र बहिर्गमन, प्रशासनिक खर्च र कर लागत कटौतीमार्फत औद्योगिकीकरण गर्नुपर्ने सुझाव उनीहरूको सुझाव छ । उद्यमी व्यवसायीहरूका अनुसार ऊर्जा लागत, जग्गा, श्रम लागत, ब्याज दर, तरलता व्यवस्थापन, परियोजनाको वित्तीय एवं उत्पादन व्यवस्थापनमा कटौती आवश्यक छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार, निजी क्षेत्र सबैले औद्योगिक विकासको कुरा गरे पनि औद्योगिक विकास भने सोचेअनुसार हुन नसकेको बताए । अहिले पनि उद्योग गर्ने वातावरण मुलुकभित्र बन्न नसकेको गुनासो उनको छ ।
नेपालको उत्पादन क्षमता पाकिस्तान पछाडि दक्षिण एसियामै अत्यन्त कमजोर रहेको भन्दै अध्यक्ष गोल्छाले व्यवसाय लागत (कष्ट अफ डुुइङ बिजनेस) नघटाएसम्म सोचे अनुसारको औद्योगिक विकास नहुने बताए ।
उच्च आयातले मुलुकको आर्थिक विकासमा ठूलो समस्या परेको भन्दै अध्यक्ष गोल्छाले मूल्य अभिवृद्धि (भ्यालुु एड) गरेर सामान निर्यात गर्न नसकेसम्म यो समस्या रही रहने विचार व्यक्त गरे ।
महासंघले नेट २०३० मार्फत मुलुकभित्र पुँज वृद्धि, रोजगारी सिर्जना, व्यापार घाटा कम गर्ने उपाय सहितको भिजन पेपर सरकारलाई पेश गरेकाले यसलाई सफल रूपमा कार्यान्वयनमा सरकारको सहयोग खोजेको बताए ।
उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक विकासमा सरकारको तर्फबाट पूर्ण सहयोग रहेको भन्दै महासंघले अगाडि सारेको भिजन पेपरलाई सरकारले समेत अपनत्व लिई कार्यान्वयनमा जोड दिएको बताए । औद्योगिक क्षेत्रको विकास र त्यससँग सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसँग सहकार्य हुनेमा विस्वस्त रहन पनि उनले निजी क्षेत्रलाई आग्रह गरे ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले हरेक कामलाई सहज बनाउन विभागलाई पूर्ण अटोमेसन लैजाने तयारी विभागका तर्फबाट भइरहेको जानकारी गराए ।
कार्यक्रममा सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग मन्त्रालयलाई सरकारले कहिल्यै प्राथमिकतामा नराखेको आभाष निजी क्षेत्रलाई भएको गुनासो गरे । कतिपय नीति नियमहरू विगतमा निजी क्षेत्रसँग छलफल नगरी बनाएकाले पनि अहिले समस्या आएको उनको धारणा थियो ।
कार्यक्रममा महासंघ उद्योग समितिका सभापति भरत आचार्यले कार्यपत्र प्रस्तुत गर्दै लागत खर्च बढी, ऊर्जाको अभाव, महँगो जग्गा, उच्च श्रम लागत, उच्च कर उद्योग विकासका लागि प्रमुख बाधक रहेको स्पष्ट पारे । सभापति आचार्यले अब लागत न्यूनीकरणमार्फत औद्योगिकीकरणमा जोड दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्य, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, महासंघको वस्तुुगत संघका अध्यक्ष एवं पदाधिकारीहरू, सरकारी अधिकारीहरू, उद्यमी व्यवसायीहरूले आ–आफ्ना गुनासा एवं समस्याहरू सो अवसरमा राखेका थिए । स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरुत्थान नारासहित सातौं राष्ट्रिय उद्योग दिवस आज मनाइँदै छ ।