×

चोयाकाे पोशाक लगाएर हजाराैं अम्दानी गर्ने भरीबहादुर  

images

गलेश्वर। बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरू सबैले प्रयोग गर्दै आएका छौँ। तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नुका साथै पोशाकबाट आम्दानी गर्ने व्यक्ति  देख्नुभएको छ त ! यदि छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रूमको बेली गाउँमा जानुहाेस् देख्नसक्नुहुन्छ। ती हुन्, भरीबहादुर पर्तेल ।

४९ वर्षीय पर्तेल टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आएका छन् । रुम बेली तल्लो गाउँकाका पर्तेलले दुई वर्षदेखि चोयाका पोशाक तयार गरी त्यही लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी जीविकोपार्जन गर्दै आएका छन्।

जङ्लबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उनले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगाएत पोशाकहरू बनाउने र आफूले बनाएका ती पोशाकहरू लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्छन्। आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरू छक्कै पर्ने गर्दछन् भने कतिले उनको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन्। शौखिन व्यक्तिहरूले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउनेसमेत गरेका छन्।

'मेरो आम्दानीको श्रोत भनेकै यही कला हो। मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु, उनले भने। पर्तेलको घरमा चार छोरा, एक छोरी र श्रीमती छन्। छोराहरू अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले  घरमा दुई दम्पतिमात्र छन्।

बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै  पोशाक तथा अन्य कृषि सामाग्रीहरू बुनेर दिन बिताउने गरेका उनी चोयाका पोशाक बेचेरै वर्षमा एक लाख रूपैयाँ बराबरको आम्दानी गर्दै आएको  बताउँछन्। चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरूले त्यस्ता पोशाक लगाएको देखेर खुसी हुँदै पैसासमेत दिने गरेका र अहिलेसम्म त्यसरी ६० हजार रूपैयाँ भन्दा बढी कमाएको पर्तेलको भनाइ छ।

हिजोआज गाउँघरका युवायुवतीले उनले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक  बनाउने र त्यसबापत एक सय रूपैयाँ  दिने गरेका छन्। पर्तेल भन्छन्, 'अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोबाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन्।'

शनिवार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरू प्रदर्शन गरेर नै उनले तीन हजार रूपैयाँ भन्दाबढी आम्दानी गरे। पर्तेलको सीपको सम्मान गर्नुपर्ने र उनलाई प्रोत्साहित गरेर यस्तो कला प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउँछन्।

पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी, थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरू पनि बनाउने गरेका छन्। यस्ता सामाग्रीहरू गाउँघरमा फाट्टफट्ट बिक्री हुने गरे पनि यो पेसा व्यवसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा बिक्री वितरण गर्न थालेको उनको भनाइ छ।

आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरू र प्रशासन प्रमुखहरूलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउँछन्।

'चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,' उनी भन्छन्, 'यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरूको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन्। 'स्थानीय सरकार वा सम्बन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरू बनाउन सक्ने पर्तेलको भनाइ छ। ध्रुवसागर शर्मा/रासस

आइतबार​ ९ असोज २०७९ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया