काठमाडौं । राजधानीको ‘प्रिमियम लोकेसन’ दरबारमार्गमा गुण ग्रुपले दरबार मल निर्माण गरेको छ । निर्माण सम्पन्न भएर बुकिङ खुला गरेको मलमा विभिन्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय ब्रान्डका सोरुमहरू हुनेछन् ।
करिब १ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको मल ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । ९ तलाको मलमा १०० भन्दा बढी पसल रहने ग्रुपले जनाएको छ । स्वदेशी एवं विदेशी पर्यटकहरूको आकर्षक स्थलको रूपमा प्रख्यात दरबारमार्गमा कोभिड महामारीकै बीचमा निर्माण भएर मल सञ्चालनमा आउन लागेको हो ।
अहिले सो मलमा स्वदेशी एवं विदेशी ब्राण्डका पसलहरूका लागि बुकिङ भइरहेको छ । मलमा फुटफल बढाउनका लागि मलभित्रै २ वटा ‘लक्जरियस फिल्म’ हल रहनेछ । त्यस्तै युवा पुस्तालाई लक्षित गरेर नाइट क्लब सञ्चालनमा आउने ग्रुपले जनाएको छ ।
कोभिडको असर न्यून भएपछि फिल्म हल र नाइट क्लब सञ्चालनमा आउने भए पनि त्यसका लागि निर्माणको काम धमाधम भइरहेको छ ।गुण ग्रुपको ग्वार्काेमा गुण सिनेमा घर सञ्चालनमा छ । ग्रुपले आफ्नै ब्रान्डमार्फट सिनेमा फ्रेन्चाइच सञ्चालन गर्नेछ ।
गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यले एउटै छानामुनि सबै सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ ग्रुपले दरबारमार्ग दरबार मल निर्माण गरेको बताए । ‘मलको हामी आफैंले निर्माण गरी व्यवस्थापन पनि गर्नेछौं,’ उनले भने ।
मलभित्रका पसलहरूका लागि न्यूनतम १ लाख ५० हजारदेखि २०/२२ लाख रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ । क्षेत्रफल र मलभित्रको स्पेस हेरेर व्यवस्थापनले भाडा निर्धारण गरेको हो ।
गुण ग्रुप लाजिम्पाटमा पनि बिजनेस कम्प्लेक्स निर्माण गरेको छ । ‘अफिसियल स्पेसका’ लागि ग्रुपले दुइवटा टावर निर्माण गरेको हो ।
दरबार मल दरबारमार्गमा थपिएको पछिल्लो मल हो ।
यसअघि दरबारमल १, राइजिङ मल, शेर्पा मल सञ्चालनमा छन् ।दरबारमार्गमा युवापुस्ता लक्षित ब्रान्डेड सोरुमदेखि कफी र रेष्टुराँ खुल्ने क्रम बढिरहेको छ ।
गुण ग्रुपले पछिल्लो समय गुण एयरलाइन्स, जीजी टावर, दरबार मल, गुण सिनेमा, जीएण्ट कन्ट्रक्सन, गुण कोलोनी, गुण कोअपरेटिभ, गुण फिल्मस, गुण इन्टरप्राइजेस, गुण ज्वेलर्स सञ्चालनमा ल्याएका छन् ।
यस्तै सो ग्रुपले एपीवान टेलिभिजन, काठमाडौं इन्जिनियरिङ कलेज, किष्ट मेडिकल कलेज, युनाइटेड मेवा खोला हाइड्रोपावर, नेपाल फाइनान्स र द मासिफ होटलमा लगानी विस्तार गरेको छ ।