काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट आगामी असोजसम्म राजधानीमा पानी ल्याउने गरी तयार थालिएको छ । असार १ गते मंगलबार राति मेलम्ची खोलामा गएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
आयोजनाले आगामी असोजसम्म पानी राजधानीमा ल्याउने गरी मर्मत गर्न लागेको हो । वैकल्पिक प्रणालीबाट पानी पठाउनका लागि मर्मत गर्ने तयारी भएको आयोजनाले जनाएको छ । गत असार १ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब १ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
गत फागुन १० गतेबाट मेलम्चीको पानी ३ महिना परीक्षणका लागि काठमाडौं आपूर्ति गरिएको थियो । परीक्षण अवधि सकिएपछि सुरुङमा त्रुटि भए नभएको हेर्न असार १ गतेबाट २ महिनाका लागि पानी आपूर्ति बन्द गरिएको थियो । तर, सुरुङको पानी खाली गराउन थालेको केही घण्टा नबित्दै मेलम्चीमा आएको लेदोसहितको ठूलो बाढीले खानेपानी आयोजनाको बाँधमा क्षति पुगेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
उनका अनुसार, मेलम्ची बजारदेखि करिब २०.१ किलोमिटर लामो खानेपानी आयोजनाको प्रवेश मार्ग रहेको छ । उक्त प्रवेश मार्गको विभिन्न ठाउँमा गरी ५ किलोमिटर सडक तथा दुईवटा पक्की पुल र तीनवटा बेलिब्रिज बगाएको छ । निर्माण सामग्री भण्डारण गर्ने क्याम्प र त्यहाँका सामान, इन्जिनियर तथा मजदुर बस्ने क्याम्पसमेत बाढीले बगाएको प्रवक्ता पन्तले बताए ।
त्यस्तै मुख्य बाँधको बायाँ तिरको रिटिङ वाल देखिएको छैन भने, मुख्य बाँध बालुवाले पुरिएर त्यसमाथि खोला बगेको छ । तर, खोलाको बहाव अझै स्थिर नभएकाले क्षति ग्रस्त क्षेत्रमा पुग्न नसकिएको पन्तको भनाइ छ ।
वर्षायामको सुरुमा बाढीले गरेको क्षति भएकाले फेरि पनि बाढी आउने सम्भावना रहन्छ । तत्कालका लागि भने खानेपानी आयोजनाको मुख्य भागमा पुग्न सडक र पुल बनाउनु पर्ने भएको छ । सडक र पुल निर्माण नगरी खानेपानीको हेडबक्स निर्माण गर्न सकिने अवस्था छैन ।
‘सडक र पुल बनाउन सके परीक्षणका लागि फागुनमा वैकल्पिक प्रणालीबाट पठाएको जसरी असोजसम्म काठमाडौंमा पानी पुर्याउन सकिन्छ कि भन्ने लागेको छ । असोजसम्म पानी पठाउनका लागि वैकल्पिक प्रणाली नै सुचारु गर्नुपर्छ ।’ उनले भने, ‘वैकल्पिक प्रणालीमा प्रयोग भएको सुरुङहरू (हेडवक्सको ड्राइभर्सन टनेल २०० मिटर र अम्बाथान अडिटमा)समेत क्षति पुगेको छ त्यसलाई बनाउनुपर्छ । भदौपछि खोलाको पानी सङ्लो हुने र मर्मतको काम सम्पन्न गर्न सके असोजसम्म काठमाडौंमा पानी पठाउन सकिन्छ भन्ने अपेक्षा गरिएको हो ।’
बाढीबाट भएको क्षति प्रत्यक्ष रूपमा अध्ययन गर्न नसकेपछि हेलिकप्टरमार्फत ड्रोनबाट अवलोकन गरिएको थियो । तर, अहिलेसम्म पनि हेडबक्सको करिब १३ किलोमिटरसम्म मात्रै जान सकिएको प्रवक्ता पन्तले बताए । ढुङ्गा, गिट्टी र बालुवाले बाँधलगायत विभिन्न ठाउँमा क्षति गरेको छ । यद्यपि वास्तविक रूपमा अझै बुझ्न सकिएको छैन ।
सेनासँग सहयोग लिने तयारी
आयोजना मर्मतका लागि सडक र पुल बनाउनु पर्ने हुन्छ । तर, तत्कालै पक्की पुल निर्माण गर्न गाह्रो हुने भएकाले पक्की पुलको विकल्पमा बेलिब्रिज राख्न सकिन्छ । पन्त भन्छन्, ‘नेपाली सेनासँग सहयोग मागेर हेलिकप्टरबाट पुल राख्ने विकल्पमा पनि तयारी भइरहेको छ ।’ साथै खानेपानी मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई आवश्यक सहयोग गर्नका लागि अनुरोधसमेत गरिएको पन्तको भनाइ छ ।
बाढीमा परी खानेपानी आयोजनामा काम गर्ने ८ जना बेपत्ता भएका थिए । जसमध्ये २ जना चिनियाँ र १ जना भारतीय नागरिकको शव निकालिएको छ । त्यस्तै एक जनाको शव भेटिए पनि सनाखद हुन बाँकी रहेको पन्तले बताए । अन्यको अवस्था भने अझै अज्ञात रहेको छ ।