काठमाडौं । एनसेल आजियाटाले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट बञ्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट दुईवटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका थिए ।
वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ इन्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गरेको छ ।
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरूको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरका रूपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधाअन्तर्गत जितेको हो ।
त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एन्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघ–संस्था तथा कम्पनीहरू एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।
‘१ सयभन्दा बढी योग्य, नवीन तथा राम्रा आवेदनहरूको समीक्षा गर्ने हामीले मौका पायांै ।’ विश्वभरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संघ–संस्थाहरूको छाता संगठन विट्साका सेक्रेटरी जनरल जिम पोइसन्टले शुक्रबार कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने ।
‘इनोभेटिभ इ–हेल्थ सोलुसन्स्अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ । दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरूको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो ।’
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधि तथा तथ्यंकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट बञ्चित समुदायहरूलाई उनीहरूको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुुरु गरेको थियो ।
यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रहरूमा लागू गरिसकिएको छ । यस कार्यक्रमअन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरूसँग परामर्श लिन सक्छन् ।
यो कार्यक्रमले १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायहरूलाई दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरूको उपचार सेवामा प्रतक्ष्य योगदान गर्छ ।”
कार्यक्रम पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, ‘एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान हो । जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने हाम्रो योजना छ ।”