बिहीबार, मंसिर १६ २०७८ ०९:०१ PM

×

मौद्रिक नीतिमा नअल्मलिए बिहीबारबाट बजार उकालो लाग्ने, तरलता व्यवस्थापनमा अर्थमन्त्री र गभर्नर सक्रिय 

images

काठमाडौं । विगत केही दिनदेखि मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको अफवाहले सेयर बजार तरङ्गित हुँदै आएको छ । त्यसको असर बुधबारको सेयर खरिद बिक्रीमा पनि परेको छ । 

बजारमा सेयरको माग उच्च हुँदा पनि मूल्य घटाएर लिनेहरुको दबदबा बढेको छ । यद्यपि, घट्दो बजारमा लगानीकर्ताहरु अझै मूल्य घटाउन कोसिस गर्छन् भने बढ्दो बजारमा सेयर किन्न नपाइएला कि भनेर बढी मूल्यमै उठाउन खोज्छन् । 

केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सक्रिय लगानीकर्ताहरुले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई मौद्रिक नीतिको पूर्ण नीति जस्तै व्याख्या गर्दै नीति परिवर्तनका बारेमा बहस चलाएसँगै त्यसको असर सेयर बजारमा पनि देखिन थालेको छ । 

खासगरी तरलता व्यवस्थापनमा केन्द्रीय बैंक चुकेको, कर्जा निक्षेप अनुपातले लगानी योग्य अवस्था नरहेको, ब्याजदर वृद्धिको भय कायमै रहेको र सेयर धितोको एकल ग्राहक कर्जा सीमा ४ र १२ करोडलाई परिवर्तन गर्ने आंकक्षा र सेयर धितो मूल्यांकनको सीमा परिवर्तन हुने आंशकाले केही दिनदेखि बजारमा नकारात्मक प्रभाव परिरहेको छ । 

मौद्रिक नीतिका समीक्ष अफवाहलाई बजारले पचाइसकेको जस्तो देखिन्छ । कतिपय लगानीकर्ताहरु सेयरधितो कर्जा कडाइ गर्नुपर्ने पक्षमा छन् । कतिपयले एक ग्राहक कर्जाको सीमा हटाउन माग गर्दै गभर्नर महाप्रसाद अधिकारी हटाउने आन्दोलनमै उत्रिएका थिए । त्यसको प्रभाव यसअघि बजार घटेर २४८१ सम्म झरेको थियो । त्यसपछि विस्तारै उक्लिएको बजार २८७८ सम्म पुगेको थियो । 

त्यसपछि फेरि घट्न थालेको बजार २६६७ सम्म घट्यो र विस्तारै बढ्न खोजेको बजारमा पनि उतारचढाव पनि कायम रहँदै बुधबार नेपाल स्टक एक्सचेञ्ज सूचक १.८९ अंकले बढेर २७३५.०१ बिन्दुमा रोकिएको छ  । बुधबारको कारोबार प्रवृत्ति एक बढ्दो डब्ल्यू, एक भी र अर्को एल सेभ भीले बिहीबार बजार बढ्ने संकेत गरेको छ । मंगलबार २७३३ मा रोकिएको बजार सूचक बुधबार सुरुमा कारोबार खुल्दा २७३७ मा चढेको थियो । तर, लगत्तै घट्न थालेको बजार ३५ मिनेटमा २६९४ सम्म झर्यो । त्यसपछि बढेको बजारले २७४८ बिन्दु छोए पनि अन्तिममा न्यून वृद्धि बजार बन्द भएको हो । 

बुधबारको कारोबार प्रवृत्ति, खरिदमा देखिएको चाप र मौद्रिक नीतिको अफवाहबाट लगानीकर्ताहरु विस्तारै बाहिरिन खोजेको प्रयासले बिहीबार बजार उचालिने सम्भावना छ । तर, विभिन्न फन्डाहरु सतहमा ल्याएर बजार प्रभावित बनाउन प्रयास भने जारी छ । खासगरी, ब्याजदर वृद्धिको फन्डा सकिएपछि सेयर धितो कर्जा सीमा र सेयर धितो एक ग्राहक कर्जालाई बढी उछालिएको छ ।

बजारमा तरलता अभाव व्यवस्थापनमा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी भने नियमित टचमा रहेर सक्रिय भएका छन् । त्यसका लागि केन्द्रीय बैंकले केही समयपछि नै सीडी रेसियो गणना विधिलाई केही सहजीकरण गर्ने र अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने रकमलाई सतप्रतिशतसम्म गर्न सक्ने, चाडबाड सकिएर मुलुक विकासको गतिमा अग्रसर हुँदा पुँजीगत खर्च बढ्न पुगी तरलता अभावको समस्या हल हुने अपेक्षा गरिएको छ । यसले सेयर बजारलाई पनि सकारात्मक प्रभाव पार्न सक्छ । 

बुधबार ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा बढी हो । मंगलबार ४ अर्ब १० करोड मात्रै थियो । गत सोमबार पछिल्लो चरणको सबैभन्दा कम कारोबार ३ अर्ब ८८ करोड थियो । 

यो पनि हेर्नुहोस
मौद्रिक नीति समीक्षाको अफवाहले सेयर बजार लाग्यो ओरालो, अझै घटाउने चाल

 

बुधबार ८ मंसिर २०७८ ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया