×

विराटनगर महानगरको ३ अर्ब ५० करोड बजेट आउँदै, करको दर घटाउने तयारी

images

काठमाडाैं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब ३ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।

हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो ।

प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुखसहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको संकल्प एवं प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जनाइएको छ ।

चालू आर्थिक वर्षभन्दा झण्डै १ अर्ब रकमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदितले जानकारी दिए ।

चालू आवका लागि ४ अर्ब ६० करोड ८१ लाख रूपैयाँको वार्षिक बजेट बनेको थियो । संघीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ ।

महानगरले आज नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटमार्फत करको दरलाई घटाइने तयारी गरिएको जनाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी ‘एजेन्डा’ बनाएका थिए ।

पालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

शुक्रबार​ १० असार २०७९ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया