काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल ड्राइभिङ ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउनका लागि बिचौलियाहरुले खुलेआम बार्गेनिङ गर्दै आएका छन् ।
सवारी चालक अनुमतिपत्रका लागि त्यहाँ पुग्नेहरुलाई बिचौलियाहरुले खुलेआम बार्गेनिङ गर्दा पनि प्रहरी प्रशासन र यातायात कार्यालय मूकदर्शक भएर बसेको पाइएको छ ।
सेन्टरमा पुग्नेहरुलाई बिचौलियाहरुले चिया पसलदेखि चउरमा बार्गेनिङ गर्दै आएका छन् । ट्रायल सेन्टर भित्रका कर्मचारीहरुसँगको सेटिङको आधारमा सवारी अनुमतिपत्र दिलाइदिने भन्दै साना गाडीहरुको १६ हजार र मोटरसाइकल, स्कुटरको १२ हजार रुपैयाँमा ‘डिल’ हुने गरेको पाइएको हो ।
ट्रायल सुरु हुनुभन्दा केही समयअघिबाट खुलेआम बार्गेनिङ चलेको दृष्य रोचक देखिन्छ । तर, छेउमै रहेको ट्राफिक प्रहरी र यातायात कार्यालयका कर्मचारीहरु देखेर पनि नदेखेझैं, सुनेर पनि नसुनेझैं गर्दै आएका छन् ।
यसरी मिलाउँछन् सेटिङ
जसले सेटिङका आधारमा लाइसेन्स लिन चाहन्छन् तिनीहरुको सिरियल नम्बर बिचौलियाहरुले ट्रायल चलिरहेको ठाउँमा रहेका कर्मचारीहरुलाई पठाइदिन्छन् ।
कतिले लाइनसमेत बस्नु पर्दैन । भित्रैबाट उनीहरुको नाम बोलाएर सीधै ट्रायलमा लाने गरेको सेटिङमा आबद्ध भएका एक व्यक्तिले भने । उनका अनुसार बाहिरबाट बोलाएकाहरुलाई भित्रका कर्मचारीहरुले अरुलाई भन्दा कम मात्रामा निगरानी गर्छन् ।
यो कार्यमा त्यहाँ रहेका ट्राफिक प्रहरी र यातायातका कर्मचारीहरु समेत संलग्न भएका हुन्छन् र सा–साना गल्तीहरु हुँदा पनि बेवास्ता गर्छन् । अरुलाई सामान्य गल्तीमा पनि सिठी फुक्ने गरेका प्रहरीहरु सेटिङमा आउनेहरुलाई भने बेवास्ता गर्ने गरेको ती व्यक्तिको भनाइ छ ।
बिचौलियाले पठाएको नम्बर आउनेबित्तिकै त्यहाँका कर्मचारीहरुले एक–आपसमा आँखाले इसारा गर्ने गरेको उनले बताए ।
चिया पसल र नाङ्लो पसलमा कुपन
ट्रायल दिनका लागि कुपन लिनुपर्छ । कुपनका आधारमा ट्रायलको पालो आउने भएकाले बिहानैबाट लाइन बस्छन् । तर, केही पैसा अलि बढी दिएमा आसपासमा रहेका चिया पसल र नाङ्लो पसलमा कुपन पाइन्छ । कुपनका लागि लाइन बस्न नपर्ने र पालो पनि पहिलो चरणमै आउँछ ।
कुपनका लागि ३ सयदेखि ५०० रुपैयाँ सम्म लिने गरेका उनीहरुले ट्रायलका लागि भने २३५ रुपैयाँ लिन्छन् । चिया पसलमा कुपन जाने भएकाले पनि सेन्टरबाट पाइने कुपनको संख्या मिलेको हुन्छ । तर, त्यहाँका कर्मचारीहरुले भने कहिलेकाहीँ प्रिन्ट मिस्टेक भएको बाहना बनाउँदै दुवैलाई पठाउने गरेको पाइन्छ ।
हामी निरीह छौंः महानिर्देशक घिमिरे
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले यस्ता गुनासाहरु धेरै आउने गरेका भए पनि आफूहरुले अनुगमन गर्न नमिल्ने बताए । ‘साँच्चै भन्दा हामी यस्ता घटनामा निरीह छौं’, महानिर्देशक घिमिरेले क्यापिटल नेपालसँग भने, यातायात कार्यालयहरु प्रदेश मन्त्रालयमातहत भएकाले सुनेर पनि नसुनेझैं गरी बस्नुपरेको छ ।’
यातायात विभागले ट्रायल सेन्टरको मापदण्ड पुगेको (स्टान्डर मिट) छ कि छैन भनेर हेर्नेबाहेक त्यसभित्रका बेथितीहरुको अनुगमन गर्न नमिल्ने उनको भनाइ छ ।
अनुगमन गरी कारबाही गर्छौंः सचिव भुसाल
बागमती प्रदेश यातायात कार्यालयका सचिव यामलाल भुसालले सेटिङ गर्ने बिचौलिया र कर्मचारीहरुलाई कारबाही गर्ने बताए । यातायात कार्यालय बिचौलियामुक्त गर्नका लागि तत्कालै पूर्ण स्वचालित प्रणाली (अटोमेसन) मा लैजाने तयारी भइरहेको र अटोमेसनमा गएपछि भने बिचौलियाको चलखेल अन्त्य हुने उनको भनाइ छ ।